शीर्षकहरू

भैरहवाको एकीकृत जाँच चौकीको शिलान्यास

भैरहवाको एकीकृत जाँच चौकीको शिलान्यास

भैरहवा । भैरहवाको एकीकृत जाँच चौकीको शिलान्यास भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त हस्ताक्षर पश्चात डिजिटल स्विच थिचेर शिलान्यास भएको हो ।

भैरहवा एकीकृत जाँच चौकी र सुनौली एकिकृत जाँच चौकीको दुवै देशका प्रधानमन्त्रीहरुले डिजिटल स्विच थिचेर शिलन्यास भएको हो । एकिकृत जाँच चौकीसँगै नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त हस्ताक्षर गरी सम्झौता भएको छ ।

नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैन ।

तर, अब भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरुको ‘सिस्टम कनेक्ट’ गर्ने सम्झौतामा नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया बीच सम्झौता भएको छ । तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) भएको छ ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ । ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन, फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना, दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको छ ।

भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको छ । भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ ।

दुई देश बिच आत्मिय सम्बन्ध रहेको र व्यापार व्यवसाय सहजताकालागि हस्ताक्षर भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए । उद्घाटन पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत बीचको पुरानो सम्बन्ध रहेको बताउँदै आइसिपी निर्माण पश्चात व्यापार गर्न सहज हुने र नेपाल र भारतमा धार्मिक र पर्यटन व्यवसाय फस्टाउने बताए ।

वर्षौदेखिको प्रयासबाट भारत र नेपालको एकिकृत जाँच चौकी सुविधा युक्त बन्ने र नेपाल र भारतमा आवत जावत गर्न सहज हुने भारतका केन्द्रिय वृत्तराज्य मन्त्री पंकज चौधरीले बताए ।

नेपालगञ्ज सुख्खा बन्दरगाह, भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् ।