शीर्षकहरू

टर्कीको राष्ट्रपतिमा पुनः एर्दोगान विजयी

टर्कीको राष्ट्रपतिमा पुनः एर्दोगान विजयी

अङ्कारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका छन्  । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् ।

टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनतालाई धन्यवाद दिएका छन् । उनले भने, ‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गर्यौं  । म  यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु।’ 

‘मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा ८ करोड ५० लाख नागरिक हुन् । उनले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भने । उता निर्वाचितमा पाराजित प्रतिद्वन्दी किलिचदारोग्लुले राजधानी अङ्कारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा “वास्तविक प्रजातन्त्र” नआएसम्म लडाइँ जारी राख्ने बताएका छन् ।

‘यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो। हामी डरको वातावरणमा झुकेका छैनौं। यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो’, उनले भने ।

एर्दोगानले २ करोड ७५ लाख १३ हजा ५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरेका छन् भने  विपक्षी नेता केमाल किलिचदारोग्लुले २ करोड ५२ लाख ६० हजार १०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गरेका छन् ।