शीर्षकहरू

नोक्सानीमा चलिरहेका छन् १७ वटा सार्वजनिक संस्थान

नोक्सानीमा चलिरहेका छन् १७ वटा सार्वजनिक संस्थान
फाइल फोटो

काठमाडौं । नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्याको ४४ रहेको छ । जसमध्ये १७ वटा सार्वजनिक संस्थान नोक्सानीमा सञ्चालित रहेका छन् । 

आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा र १७ वटा नोक्सानीमा सञ्चालित रहेको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले ६ अर्ब १५ करोड ५१ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । आर्थिक वर्ष २०७७/७८ को लाभांश ६ अर्ब ७२ करोड १० लाख रुपैयाँको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा लाभांश ८.४३ प्रतिशतले घट्न गएको छ । 

२०७९ असारसम्म सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको शेयर लगानी ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ र ऋण लगानी २ खर्ब ८९ अर्ब २४ करोड ९९ लाख रुपैयाँ गरी कुल ६ खर्ब १८ अर्ब १७ करोड ७५ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा शेयर र ऋण लगानी गत आर्थिक वर्षको तुलनामा क्रमशः ४.५४ प्रतिशत र १४.४९ प्रतिशतले वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा ३६.२२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात ११.६७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ आयकर प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ५.५९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो योगदान ६.५६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ सम्म सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व ५९ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/७९मा यस्तो दायित्व ४७ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा कोषमा व्यवस्था नभएको दायित्व गत वर्षको तुलनामा २०.२६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानमा २९ हजार ७ सय ३६ कर्मचारी कार्यरत रहेका छन् भने आर्थिक वर्ष २०७७/७८ मा कार्यरत कर्मचारीको सङ्ख्या २८ हजार २ रहेको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा नाफामा सञ्चालित संस्थानहरूको कुल नाफा ४३ अर्ब २ करोड ५३ लाख रहेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको कुल नोक्सान  ४१ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ रहेको छ । फलस्वरूप, आर्थिक वर्ष २०७८/७९ मा एकीकृत खुद नाफा १ अर्ब ५४ करोड २१ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो खुद नाफा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।