शीर्षकहरू

काठमा कला भरेरै कुस्त कमाउँछन् गणेशमान

काठमा कला भरेरै कुस्त कमाउँछन् गणेशमान

काठमाडौं । काठबाट बनेका मूर्ति, कला, कौसल काठमाडौं उपत्यकाका विशेषता नै हुन् । त्यसमा पनि भक्तपुरको मयुर झ्याल त अन्तर्राष्ट्रिय रुपमा समेत प्रसिद्ध छ । त्यही मयुर झ्याल रहेको सहर भक्तपुरका काष्ठ उद्यमी हुन्, गणेशमान राजचल । 

उनी विगत तीन दशकदेखि काष्ठ उद्यमको क्षेत्रमा क्रियाशिल छन् । बाल्यकालदेखि नै यो पेसामा लागेका उनको यो पुर्ख्यौली पेसा हो । त्यही पेसालाई नै उनले निरन्तरता दिएका हुन् ।  

उनी काठबाट बन्ने विभिन्न प्रकारका सामान बनाउन कुनै ठाउँमा सिप सिक्न गएनन् । आफ्नै परिवारका अग्रजहरूले यहि पेसा गरेका कारण उनले घरमै सिके । पुर्खाको पेसालाई नै निरन्तरता दिएका कारण भक्तपुर उड क्राफ्ट उद्योगमा उनले खासै लगानी गर्नु परेन ।

काठबाट कलात्मक सामान बनाउन धेरै मेहनत लाग्ने उनको अनुभव छ । राजचल भन्छन्, 'तीन दशक अगाडी मेसिनहरू हुँदैन थिए । सबै हातले, बसिलाले नै कुदेर बनाउनु पर्थ्यो । धेरै समय लाग्ने गर्थ्यो । तर, अहिले विभिन्न खालका मेसिनहरू आएका छन् । हातले बनाउँदा दुई दिन लाग्ने काम अहिले मेसिनबाट दुई तीन घण्टामा नै गर्न सकिन्छ ।’ 

सुरुवातमा भक्तपुरका दरबारहरूमा रहेका जस्तै झ्यालहरू, बुट्टादार ढोकाहरू उनले बनाउन सिके । त्यति बेला यस्ता सामानहरू बाहेक अन्यको बजार खासै थिएन । बुट्टादार झ्यालढोकाहरु मठमन्दिर तिर धेरै लगाउने भएकोले उनले त्यस्ता खालका सामान बनाए । अहिले काठबाट बनेका विभिन्न गिफ्टका सामानहरुको पनि बजार रहेको छ ।

'पहिले र अहिलेको बजारमा धेरै फरक छ । पहिला हामीले झ्याल, ढोका, काठको बाकसहरू जस्ता मात्रै समान बनाउने गरेका थियौँ । त्यति बेला त्यस्तै कुराहरूको मात्रै माग रहेको थियो । तर, अहिले विभिन्न प्रकारका काठका सामानहरू बनाउँछौँ’, उनले भने ।

पहिले पहिले उनले औपचारिक रुपमा उद्योग नै चलाएका थिएनन् । अर्डर अनुसारका सामान मात्र बनाउने गर्थे । वि.सं २०६२ सालमा औपचारिकरुपमा भक्तपुर उड क्राफ्ट भनेर घरेलु उद्योगकारुपमा दर्ता गराए । उद्योग दर्तापछि उनले कच्चापदार्थ खरिद गर्न पाँच लाख रुपैयाँ खर्चिएका थिए । उनी अहिले काठका सामानहरू बेचेर नै मासिक रुपमा डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । उनले सात जनालाई रोजगारी समेत दिएका छन् ।

उनले बनाएका काष्ठकलाका सामानहरू विदेशमा समेत राम्रो बिक्री हुने गरेका छन् । उनी आफ्नो सिप बेच्नका लागि मलेसिया, चीन, बङ्गलादेश, भारत लगायत देशहरूमा पुगेका छन् । जसको माध्यम ती देशहरूमा लाग्ने अन्तर्राष्ट्रिय स्तरको एक्स्पो रहेको छ ।  

'काठ त जहाँ पनि पाउँछ । तर, नेपाली काठप्रतिको विश्वास बाहिरको देशहरूमा पनि छ । मायाको चिनोहरूको लागि पनि विदेशीहरूले काठबाट बनेका सामानहरू खरिद गर्ने गरेका छन्’, उनले भने ।

वि.स. २०४५ सालमा पाटन दरबार स्क्यावयरमा कृष्ण मन्दिर अगाडीको मन्दिरमा उनले बनाएका ढोकाहरू लगाइएको छ । उनले यस क्षेत्रका लाग्न चाहानेहरुलाई पनि सिप सिकाउने गर्छन् । यसका लागि उनले विभिन्न ठाउँमा गएर प्रशिक्षण दिने गरेका छन् ।

उनले यस्तो सिप सिकाएकामा सबैभन्दा बढी महिलाहरू रहेका छन् । युवाहरूलाई सिकाउँदा पछि उनीहरू विदेश जाने भएकोले महिलाहरूलाई लक्षित गरेर तालिमहरू दिने गरेको उनले सुनाए । महिलाहरूलाई सिप सिकाउने हो भने उनीहरूले दिगोरुपमा काम गर्ने गरेको उनको भनाई छ । 

काष्ठ कलालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । कुनै पनि घरको मूल ढोकामा बुट्टादार ढोका बनाउने हो भने त्यो घरको रूप नै अर्को हुन्छ । उनले सजाएर राख्ने झ्याल, ढोकाहरू समेत बनाउने गरेका छन् ।

ग्राहकको डिजाइन अनुसार उनले विभिन्न खालका काठका सामानहरू बनाउने गरेका छन् । धेरै विदेशीहरूले उनको अष्टमण्डप किन्ने गरेका छन् । जुन आठ वटा हुन्छ, यसलाई गुड लक पनि भन्ने गरिन्छ । हिन्दुहरूले भने गणेश, चन्द्र सूर्य, नाग, लगायतका सजावटका सामनहरु किन्ने गरेका छन् । 

उनले काठको टाई, कप, धूप बाल्ने बक्सा, सह झ्याल, बोद्य स्तुपा, भित्ते घडीको फ्रेम लगायतका सामानहरू बनाउने गर्छन् । उनले बनाएका सामानहरू लाखौँ रुपैयाँ खर्चेर ग्राहकले खरिद गरेँ गरेको उनी बताउँछन् । 

उनी भन्छन्,'‘मैले राम्रो काठबाट सामानहरू बनाउने गरेको छु । घरको मूल गेटमा लगाउने एउटै ढोका १३ लाख रुपैयाँसम्ममा बिक्री गरेको छु । मेरो पौरखी हातले बनाएका सामानले राम्रो बजार पाएका छन् ।’

काष्ठ उद्यमीहरूलाई सरकारले बेवास्ता गर्ने गरेको उनको गुनासो छ । राजचल भन्छन्, ‘काष्ठ उद्यमीहरूको लागि सरकारले साथ सहयोग गरेको छैन । बेवास्ता गर्ने गरेको छ । सरकारको सहयोग पाउने हो भने यो व्यवसाय थप फस्टाउने छ ।’

उनका अनुसार हस्तकलाको सामानहरू उपत्यकामा मात्रै सीमित बनेको जस्तो देखिन्छ । यसको महत्त्व देशभरका सबै जिल्लामा पुग्नु पर्छ । यसका लागि सरकारले साथ सहयोग गर्न आवश्यक रहेको उनको भनाई छ ।