शीर्षकहरू

अन्ततः बीमा दाबीमा गल्यो चौधरी ग्रुप

अन्ततः बीमा दाबीमा गल्यो चौधरी ग्रुप

काठमाडौं । क्षति भएकोभन्दा बढी बीमा दाबी गरेको चौधरी ग्रुप अन्ततः गलेको छ । प्रसङ्ग, उही चर्चित आगलागी काण्डको हो, जुन दुई वर्ष अघि २०७८ जेठ १९ गते भएको थियो। सो दिन पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्रामको सिजी फुडमा आगलागी भएको थियो । 

उद्योगको बियर प्लान्ट र गोदाममा भएको सो आगलागीका क्रममा भएको क्षतिभन्दा बढी क्षतिपूर्ति बीमा कम्पनीबाट असुल्ने प्रयासमा चौधरी समूह लागेपछि यो विषयले फेरी चर्चा आएको थियो । तर, बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफूले तयार पारेको सर्भियर रिपोर्टभन्दा एक इन्च पनि तलमाथि नहटेपछि चौधरी ग्रुप बाध्य भएको कम्पनी स्रोतले जनाएको छ । 

कम्पनीले करिब १४ करोड क्षेतीको विवरण सहितको सर्भियर रिपोर्ट तयार गरेर ग्रुपलाई दाबी भुक्तानी लिन बोलाएको थियो तर, ग्रुपले करिब २५ करोड क्षति भएको भन्दै प्राधिकरणमा उजुरी हालेर पुन मूल्यांकन गराउन खोजेको थियो । बीमा प्राधिकरण सम्बद्ध समाचार स्रोतका अनुसार सो घटनामा बीमा कम्पनीका सर्भेयरले गरेको क्षतिको मूल्याङ्कन माथि चित्त नबुझेको भन्दै सांसद तथा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको व्यापारिक समूह चौधरी ग्रुपले प्राधिकरणमा उजुरी दिएका थिए। केही महिना अघि नै परेको सो उजुरी उपर प्राधिकरणले पनि कुनै सुनुवाइ गरिदिएन । 

समाचार स्रोतका अनुसार सो उद्योगको बीमा दुई वटा कम्पनीमा गरिएको थियो। उद्योगको मेसिनरी र भौतिक संरचनातर्फको बीमा शिखर इन्स्योरेन्समा गरिएकोमा सो कम्पनीले चौधरी समूहलाई दाबी भुक्तानी गरिसकेको छ। तर, उत्पादित वस्तुको बीमा गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (तत्कालीन सिद्धार्थ इन्स्योरेन्स)सँग भने चौधरीको लफडा परेको थियो। सो समूहले बीमा कम्पनीको सर्भेयरले तयार गरेको रिपोर्ट चित्त नबुझेको भन्दै उजुरी दिएको थियो । उक्त समाचार आर्थिक न्युज डटकमले त्यति बेला नै सार्वजनिक गरेपछि बीमा क्षेत्रमा बदनाम कमाएको चौधरी ग्रुप थप विवादमा पर्ने डरले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तयार पारेको रिपोर्ट अनुसार मान्न तयार भएको बीमा प्राधिकरणले जनाएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससम्बद्ध समाचार स्रोतका अनुसार सर्भेयरले आगलागीमा जलेका र नष्ट भएका सबै बस्तुको मुचुल्का तारे गरी त्यसको मूल्याङ्कनको आधारमा भुक्तानीको सिफारिस गरेको थियो। तर, चौधरी पक्षको भने नष्ट नभएका बस्तुलाई पनि नष्ट भएको परिमाणमा समावेश गर्नुपर्ने माग गर्दै प्राधिकरणमा उजुरी दिएको थियो । 

त्यसो त चौधरी समूहको नियत यो घटनामा सुरुदेखि नै खराब थियो।  सिजी ब्रुअरीमा आगलागी हुँदा भएको क्षतिको विवरण नपाएर त्यसै बेला सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सर्भेयरहरु आजित बनेको कुरा त्यसै बेला आर्थिक न्युजले प्रकाशित गरेको थियो। सो कम्पनीको गोदामको बीमा गरेको बीमक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो सर्भेयर क्षतिको विवरण सङ्कलनको लागि घटनास्थल नै गएकोमा  कुनै आधिकारिक  कागजात नपाएर त्यसै बसिरहेको गुनासो त्यसै बेला गरेको थियो। 

तर, सिजी ब्रुअरीले भने त्यो बेला मिडिया समक्ष समेत झुट बोलेको थियो। घटना भएको दोस्रो दिन नै आर्थिक न्युजसँग कुरा गर्दै सिजी ब्रुअरीका तत्कालीन म्यानेजर रामभक्त केसीले क्षतिको विवरण सङ्कलनका लागि बीमा कम्पनीको सर्भेयर समेत बुधवार नै फिल्डमा पुगेर विवरण तयार गर्नका लागि आवश्यक पर्ने तथ्याङ्कहरू सङ्कलन गरेर काठमाडौँ फर्किएको बताएका थिए । तर, बीमा कम्पनीले कामै तोकेर पठाएको सर्भेयरले कुनै कागजात नपाएको गुनासो त्यसपछि सार्वजनिक भएको थियो। 

त्यसो त यसरी आगलागीबाट भएको क्षतिको दाबी भुक्तानीका क्रममा यसभन्दा अघि नै बदनाम भइसकेको कारण चौधरी समूहले पछिल्लो घटनामा पनि लफडा गरेको हो। पहिले घटनाको मुचुल्का उठाउनेसम्मको प्रक्रियामा उदासीन बनेर पछि मुद्दा मामिलामा लाग्ने चौधरी समूहको पुरानो रोग र खराब प्रवृत्तिका कारण बीमा कम्पनीहरू आजित बन्दै गएका छन्।  

चौधरी समूहले बीमा दाबीको विषयमा वि.सं २०६९ सालमा गुर्जुधारामा भएको यही कम्पनीको गोदाममा आगो लागेको घटनामा पनि मुद्दा मामिला गरेको थियो। यसरी थोरै नोक्सान हुँदा समेत मनलाग्दी दाबी गर्ने गरेको चौधरी समूहले उक्त दाबीमा भने अदालतलाई समेत प्रभाव पारेर आफूले दाबी गरेको रकम लिन सफल भएको थियो ।