शीर्षकहरू

सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन

सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन

काठमाडौं । क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ । 

मेलम्चीमा शनिवार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

नवगठित अन्य पदाधिकारीमा उपाध्यक्ष राजन धिताल, सचिव अजयकुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलीप लामा, सागर खड्का, सन्तोष चौलागाईं, अनिलकुमार धिताल रहेका छन् ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको सफलताले देशले गर्व गर्ने वातावरण बनेको बताए । क्रिकेट खेललाई प्रोत्साहन गर्न आगामी दिनमा उपयुक्त मैदान निर्माण गरेर प्रतियोगिता आयोजना गर्न तथा क्रिकेट खेलको विकासका लागि सहकार्य गर्ने उनले जानकारी दिए ।

क्रिकेट खेललाई सिन्धुपाल्चोकमा स्थापित गर्न शुरूआतदेखि नै सहयोग गर्दै आएका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले नवगठित तदर्थ समितिलाई बधाई दिँदै क्रिकेट खेलको विकाससँगै खेलमैदान निर्माणमा आवश्यक पहल र सहकार्य गर्न तत्पर रहेको जानकारी दिए ।