शीर्षकहरू

पाकिस्तानमा भएको झडपमा चार जनाको मृत्यु, रुपैयाँको मूल्यमा ठूलो गिरावट

पाकिस्तानमा भएको झडपमा चार जनाको मृत्यु, रुपैयाँको मूल्यमा ठूलो गिरावट

एजेन्सी । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानका विभिन्न शहरमा भएका विरोध प्रदर्शनका दंगामा चार जनाको मृत्यु भएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार पेसावर शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा चार जनाको मृत्यु भएको हो भने दर्जनौं घाइते भएका छन् ।

मंगलबार पक्राउ परेका पूर्व प्रधानमन्त्री खानलाई राष्ट्रिय उत्तरदायित्व ब्युरोले अनुसन्धानका लागि आठ दिन थुनामा राख्न सक्ने आदेश त्यहाँको सर्वोच्च अदालतले दिएको छ । अदालतमा उपस्थित भएका खानले प्रहरी नियन्त्रणमा रहेकै बेला आत्महत्या हुन सक्ने बयान दिएका छन् । 

उनले हिरासतमा रहेका बेला आफूलाई शौचालयसम्म जान नदिएको भन्दै कारागारमा नै हत्या हुन सक्ने सम्भावना व्यक्त गरेका हुन् । त्यहा प्रदर्शनकारीहरुले धेरै सरकारी भवनहरुमा आगजनी गरेका छन् भने इमरानको रिहाईको माग गर्दै भइरहेको प्रदर्शनका क्रममा रेडियो पाकिस्तान रहेको भवनमा समेत आगो लगाईएको छ । 

पाकिस्तानमा भएको पछिललो राजनीतिक घटनाक्रमले गर्दा त्यहाँको स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा धेरै नै कमजोर बनेको छ । मंगलबार खान पक्राउ परेपछि बुधबार स्थानीय रुपैयाँको मूल्यमा १.३ प्रतिशतले गिरावट आएको छ । यसरी स्थानीय पाकिस्तानी रुपैयाँ कमजोर बन्दा बुधबारका लागि सटहीदर १ डलरको २८८.५० पैसा कायम भएको छ ।