शीर्षकहरू

कृषि तथा पशुपन्छी बीमाबाट एक अर्ब ८१ करोड बीमाशुल्क संकलन

कृषि तथा पशुपन्छी बीमाबाट एक अर्ब ८१ करोड बीमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा व्यवसायबाट एक अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको नौ महिना अर्थात चैतमसान्तसम्म एक अर्ब ८१ करोड ५१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले एक लाख ३५ हजार ४३ बीमालेख बिक्री गरेका छन् । 

प्रदेशगत बीमाशुल्क सङ्कलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । प्राधिकरणका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा ५१ हजार ९१ बीमालेख बिक्री गरी ६६ करोड ८२ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सोही अवधिमा कम्पनीहरुले कोशी प्रदेशबाट १८ हजार ५३४ बीमालेख बिक्री गरी २२ करोड २० लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेस प्रदेशबाट १६ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशबाट ९ हजार १४५ बीमालेख बिक्री गरी १६ करोड ७४ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका हुन् ।

प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा बापत गरिने बीमा शुल्क बढेको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट १४ हजार ८४३ बीमालेख बिक्री गरी २३ करोड १५ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट २७ करोड ४ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले यस अवधिमा २६ हजार ९९५ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

त्यसै गरी, कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरू बढेका छन् । बीमा गर्नेहरू बढेसँगै बीमाशुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा १० हजार ११० बीमालेख बिक्री गरेका छन् । उक्त सङ्ख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले १ करोड १९ लाख ७९ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार कम्पनीहरुले यस अवधिमा सुदूरपश्चिम प्रदेशबाट पाँच करोड ७३ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले सो प्रदेशमा यस अवधिमा ४ हजार ७२५ बीमालेख बिक्री गरेको तथ्याङ्कमा उल्लेख छ ।