शीर्षकहरू

ठूला दलले घण्टीको आवाज सुनेनन्, अब एकोहोरो 'शङ्ख र राम राम सत्य' गुन्जिने पक्का भो

ठूला दलले घण्टीको आवाज सुनेनन्, अब एकोहोरो 'शङ्ख र राम राम सत्य' गुन्जिने पक्का भो

काठमाडौं । तनहुँ र चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वारहरु स्वर्णिम वाग्ले र रवि लामिछानेले प्राप्त गरेको मतसंख्या र प्रतिद्वन्द्वी मतान्तर हेरेपछि सामाजिक सञ्जालमा नवीन अधिकारी नाम गरेका एक मित्रले सटिक टिप्पणी पोस्ट गरे । उनले हिजो सोमबार राती काठमाडौँबाट दुबईको लागि उडेको फलाई दुबईको जहाजमा भएको घटनासँग चुनावी परिणामलाई रोचक ढङ्गले तुलना गरेका छन् ।

उनले लेखेका छन्- हिजो एउटा विदेशी जहाज नेपालबाट उड्नसाथ चरासँग ठोक्किएर चर्को आवाज आएछ, आगो पनि लागेछ। तर, चालक दलले आकाशमै आगो निभाएर, लामो यात्रा गरेर गन्तव्यमा सकुशल अवतरण गराएछन्।

उनी अगाडी लेख्छन्, 'संयोग भनौँ, हिजै नेपालका ठूला र पुराना जहाज घण्टीसँग ठोक्किँदा भटाभट एक/एक इन्जिन पड्किएका छन्। ती  जहाज उडाउने बुढा पाइलटहरूले घण्टीको चर्को आवाज सुने वा सुनेनन् होला ?  मुख्य इन्जिनमा लागेको आगो देखे/देखेनन् ?"

ती मित्रको प्रश्न निकै गहिरो छ । यस्ता आगो धेरै पटक लाग्दा र इन्जिन पड्किँदा त्यसको आवाज नसुनेका नेपालका पुराना जहाज (राजनीतिक दल) र त्यसका चालक (शीर्ष नेता) हरू माथि अहिले सबैले उठाएको प्रश्न हो यो । तर, उनीहरूको जिद्दीपन कस्तो छ भने सबै इन्जिनमा आगो लागेर विमान नै पड्किने अवस्था आउँदा समेत कुनै वास्ता गर्दैनन् ।

परिणाम देखिन थालिसकेको छ । २०७९ को वैशाख २० गते सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौँ, धरान र धनगढीमा देखिएको सबै पुराना दललाई जलाउने आगोको झिल्कोलाई उनीहरूले नजर अन्दाज गरे । आखिर, मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा त्यो फिलुंगो बनेर फैलियो । तैपनि उनीहरूको चेत खुलेन । अहिले उपनिर्वाचनमा कसरी तनहुँ र चितवनमा ठुला दल खरानी भए त्यो देखिएको छ । तर, अझै पनि उनीहरूको चेत खुल्ने कुनै लक्षण छैन ।

बरु, लाज पचाउँदै भन्दैछन्- 'मात्रात्मक रुपमा केही बढी र लोकप्रिय मत घण्टीले पायो । अझै पनि गुणात्मक र सचेत मत हामीसँगै छ । आत्तिनु पर्ने स्थिति छैन ।' यस्ता भनाइले केही आत्मसन्तुष्टि त मिल्ला तर यथार्थ जे हो त्यो भिन्नै छ ।

बरु, हेर्नुपर्ने भएको छ कि अब यस्तै खालका आफैलाई भ्रममा राख्ने टिप्पणी गर्दै उनीहरू इन्जिन पड्किएको जहाजलाई जबरजस्ती अगाडि बढाउन खोज्छन् या तुरुन्तै त्यसको मर्मतमा लाग्छन् । दन्किरहेको आगो निभाउने विधिको खोजी गर्छन् वा फिलुंगो झन् झन् बढ्ने गरी जहाज उडाई रहन्छन् ।

यहाँनेर एउटा अर्को सवाल पनि धेरै नेपालीले उठाइरहेका छन् । के अहिलेको यो संसद्को यात्रा गन्तव्यमा पुग्ला ? अर्थात् हालको संसद्ले ५ वर्षे आफ्नो कार्यकाल पुरा गर्ला ? शायद यो उडान "डेष्टिनेशन २०८४" मा पुग्न सक्दैन । त्यसका पनि केही कारणहरू छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी भए पनि हालको संसद् विघटन गराउनु  छ । उनी प्रमाणित गर्न चाहन्छन् कि हालको संविधान अन्तर्गत पनि संसद् विघटन हुनसक्छ । त्यसका लागि उनी जे जस्तो निर्णय गर्न र आवश्यक तिकडम गर्न तयार छन् ।

उता हालका प्रधानमन्त्री प्रचण्ड पनि आफू प्रधानमन्त्री बन्न पाइरहने हो भने ठिक छ नत्र जे सुकै होस् भन्नेमा छन् । अब माओवाद छाडेर समाजवादको मात्र नाम जप्न मिल्ने गरी पार्टीको नै नाम फेर्ने तयारीमा उनिछन् ।

त्यसैले अहिलेको संसद्को यात्रा बिचैमा "फोर्स ल्यान्डिङ" मार्फत टुङ्गिने सम्भावना पनि निकै प्रबल छ । यदि त्यस्तो भयो भने अबको आवधिक वा मध्यावधि जुनसुकै निर्वाचनमा घण्टी मात्र होइन धेरै नै चर्को स्वरमा शङ्ख बज्ने वाला छ ।

अहिले पुराना राजनीतिक दलले जसरी घण्टीको चर्को आवाज सुनेका छैनन्  या भनौँ सुन्न चाहिरहेका छैनन् त्यो उदासीनता कायम नै रहने हो भने अब ढिलोमा २०८४ वा त्यो भन्दा अघि नै पुराना जहाज 'शङ्ख'सँग ठोक्किने निश्चित छ।

सबैले के हेक्का राख्नु जरुरी छ भने त्यस बेला शङ्ख  एकोहोरो आवाजमा बज्ने छ । हिन्दुधर्मालम्बीको बहुमत भएको नेपालमा सबैलाई थाहा छ, एकोहोरो शङ्ख कुनबेला बज्छ ।  जब एकोहोरो शङ्ख बजेको केही समयपछि आगोको लप्को देखिन्छ त्यसले खरानी पारेको देह फेरी फर्केर आउँदैन ।

अहिले नेपालका ठुला भनिएका परम्परागत राजनीतिक दलको मृत्यु शैया तर्फको यात्रालाई घण्टीको आवाजले रोक्न सकेन भने अब सुनिने ध्वनि एकोहोरो शङ्ख र 'राम राम सत्य हो' मात्रै हुने पक्का छ ।