शीर्षकहरू

एसएमई प्लेटफर्मका लागि बोर्डद्धारा नियमावली तयार, के–के छन् व्यवस्था ?

एसएमई प्लेटफर्मका लागि बोर्डद्धारा नियमावली तयार, के–के छन् व्यवस्था ?

काठमाडौं । एसएमई प्लेटफर्म सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले नियमावली तयार गरेको छ । बोर्डले बिहीवार साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ को मस्यौदा सार्वजनिक गरेको हो ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन ,२०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिएर उक्त नियमावली तयार गरेको जानकारी दिएको छ । नियमावली बमोजिम धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा पच्चीस करोड रूपैयाँ हुनुपर्नेछ । तर साना तथा मझौला संगठित संस्थाको उपस्थिती र बजारको अवस्था हेरी बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्ने नियमावलीमा उल्लेख छ ।

साना तथा मझौला संगठित संस्थाले धितोपत्रको सार्वजनिक निष्कासन गर्दा जारी पूँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ । यस्ता कम्पनीहरूले धितोपत्रको सार्वजनिक निष्कासन गर्न विभिन्न शर्तहरू पुरा गर्नुपर्नेछ ।

नियमावलीमा भएको व्यवस्था बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्ने साना तथा मझौला संगठित संस्थाले पब्लिक कम्पनीको रुपमा कारोबार सञ्चालन गरेको एक आर्थिक वर्ष पुरा हुनुपर्नेछ । 

तर साविकमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तिमा दुई आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीमो हकमा पब्लिक लिमिटेड कम्पनीको रुपमा एक आर्थिक वर्ष पुरा हुन आवश्यक पर्नेछैन् ।

प्रचलित कानुन बमोजिम लेखापरीक्षण तथा साधारण सभा सम्पन्न गरेको र संस्थापकहरूले कबुल गरेको धितोपत्रको रकम शतप्रतिशत चुक्ता भैसकेको अवस्थामा मात्र धितोपत्र सार्वजनिक निष्कासन गर्न पाउने व्यवस्था छ ।

यस नियमावली अनुसार धितोपत्र निष्कासन गर्ने संगठित संस्थाले क्रेडिट रेटिङ्ग गर्न अनिवार्य हुने छैन् । संगठित संस्थाले धितोपत्र सार्वजनिक निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ ।

साना तथा मझौला संगठित संस्थाको सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदका लागि न्यूनतम २५० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । शेयर खरीदको अधिकतम सीमा भने विवरण पत्रमा उल्लेख भए अनुसार हुने नियमावलीमा उल्लेख छ । सार्वजनिक ष्निकासनका लागि खुला गरिएको धितोपत्र विक्री बन्द भएको मितिले बढीमा १५ दिनभित्र बाँडफाँट गरिसक्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

यस्ता कम्पनीहरूले प्रिमियममा समेत धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्नेछन् । पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा रहेको, प्रति शेयर चुक्तापूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको, संगठित संस्थाको साधारण समाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले कम्तिमा औषत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेका संगठित संस्थाले प्रिमियममा आईपीओ जारी गर्न सक्ने व्यवस्था नियमावलीमा गरिएको हो ।

प्रिमियम मूल्य भने पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणा सम्म तोक्न सक्ने व्यवस्था गरिएको छ ।साना तथा मझौला संगठित संस्थाले पूँजी बृद्धिका लागि हकप्रद निष्कासन गर्न सक्ने व्यवस्था समेत नियमावलीमा गरिएको छ ।