शीर्षकहरू

क्रिकेटर भण्डारीले पाए ५० हजारसहित सम्मान

क्रिकेटर भण्डारीले पाए ५० हजारसहित सम्मान

काठमाडौं । क्रिकेटर सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिकाले राष्ट्रिय टोलीका यू–१९ टका सदस्य सुवास भण्डारीलाई ५० हजार नगदसहित आज सम्मान गरेको हो ।

यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै भण्डारीलाई गाउँपालिकाले सम्मान गरेको हो । भण्डारी काठेखोला गाउँपालिका–१ पालाको हुन् । सम्मान कार्यक्रममा  काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले यो सम्मानले मनोबल बढाउन सहयोग पुग्ने बताए । 

गाउँपालिकाले खेल क्षेत्रसमेत प्राथमिकता राखेर काम गरिरहेको भन्दै काठेखोलामा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गरिएको बताए ।     

गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक)ले क्रिकेटर भण्डारीको खेल जीवनलाई थप प्रेरणा र प्रोत्साहनका लागि सम्मान गरिएको बताए । भण्डारी सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् । उनी पोखरामा कक्षा ९ मा अध्ययन गर्छन् ।