शीर्षकहरू

खाद्यान्न बाली सम्बन्धी नयाँ बीमालेख जारी, बीमितले पनि दुई लाख पाउने

खाद्यान्न बाली सम्बन्धी नयाँ बीमालेख जारी, बीमितले पनि दुई लाख पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई खाद्यान्न बीमा लेख जारी गर्न अनुमति दिएको छ । प्राधिकरणको फागुन १८ गतेको निर्णय अनुसार कम्पनीहरुलाई खाद्यान्य बाली बीमालेख जारी गर्न पाउने व्यवस्था गरेको हो । 

प्राधिकरणले जारी गरेको खाद्यान्न बाली बीमालेख अनुसार यो बीमालेखमा धान बाली मकै, जौ, गहुँ र कोदो बालीका उत्पादनलाई  समेटिएको छ । खाद्यान्न बाली बीमालेखले बीमा अवधि भित्र अग्नीजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भुमिजन्य, चट्याङ्जन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण गर्ने प्राधिरकणले जनाएको छ । 

उक्त बीमालेखमा बीमा अवधि भित्र बीमितको दुर्घटना भएमा बीमावापतको २ लाख रुपैयाँ भुक्तानी हुने प्राधिकरणले जनाएको छ । जसमा बीमितको आत्महत्या बाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठिक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुबै हातको नाडिदेखि माथि पुरै हात काम नलाग्ने भएमा, एक वा दुबै खुट्टाको गोलीगाँठो देखिमाथि काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा बीमितले सो बराबरको भुक्तानी पाउनेछन् ।

प्राधिकरणका अनुसार सो बीमालेख अन्तर्गतका खाद्यान्न बालीको उत्पादनको आधारमा बीमा गर्नुपर्नेछ । खाद्यान्न बालीको बीमाशुल्कमा धान मकै र गहुँ बालीको हकमा बीमाङक रकमको ५ प्रतिशतका दरले हुनेछ । त्यसैगरी जौ र कोदो बालीको हकमा बीमाङक रकमको ३ प्रतिशतका दरले बीमाशुल्क तिर्नुपर्ने प्राधिकरणले जनाएको छ ।