शीर्षकहरू

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको सन नेपाल लाइफले बोलायो साधारण सभा

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको सन नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २९ गते पाँचौ र छैठौं वार्षिक साधारण सभा बोलाएको छ । चैत ७ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले याक एण्ड यती होटल, दरबार मार्ग, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ र गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरीक्षक के.पि.आर एसोसियट्स, चाटर्ड एकाउन्टेन्टस् कृष्ण प्रसाद रेग्मी पुन नियुक्त हुन योग्य भएको कम्पनीको ठहर छ । साधारण सभामार्फत छलफल र स्वीकृति गराई लेखापरीक्षक नियुक्ती हुनेछ ।

सभामार्फत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट संशोधनका सम्बन्धमा कुनै सुझाब वा निर्देशन भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गरिनेछ । कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तनको विषय पनि सभाका लागि तय गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणमा प्रतिकित्ता रू. १०० मा प्रिमियम वापत रू. १५० दशमलव ५० थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५५ मा आईपीओ निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।

कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फागुन १७ गते निवेदन दर्ता गराएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २४ करोड रहेको छ ।