शीर्षकहरू

दुधको मूल्य बढेर पनि ठगी, तोकिएको भन्दा बढी तिर्न बाध्य उपभोक्ता

दुधको मूल्य बढेर पनि ठगी, तोकिएको भन्दा बढी तिर्न बाध्य उपभोक्ता

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)ले स्ट्यान्डर्ड दूध (नीलो पोका)को प्रतिलिटर ९७ रुपियाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर)को मूल्य ४८ रुपियाँ ५० पैसा तोकिएको छ तर उपभोक्ताले यसलाई ५० रुपियाँ तिर्नु परिरहेको छ ।

काठमाडौँ, बुद्धनगरकी कविता थापाले भनिन्, “डीडीसीको दूध गुणस्तरीय हुन्छ भनेर दिनमा दुई प्याकेट (एक लिटर) खरिद गर्छु । पसलेले एक सय रुपियाँ नै लिन्छन् ।” थापा त एक जना प्रतिनिधि मात्र हो । आम उपभोक्ता दूध खरिद गर्दा बढी पैसा तिर्न बाध्य छन् । डीडीसीले खुद्रा मूल्य पोकामा लेख्ने गरे पनि उपभोक्ता खुद्रा व्यापारीबाट ठगिने गरेका छन् । 

दूध वितरण गर्ने बुथले पनि खुद्रा मूल्य ५० नै लिने गरेको छ । खुद्रा बिक्रीमा उपभोक्ता ठगिने गरेका हुन् । उपत्यकामा एक हजार दुई सयवटा बुथबाट दूध वितरण हुने गर्छ । दूध वितरणका लागि बुथलाई डीडीसीले प्रतिलिटरमा पाँच रुपियाँ कमिसन दिने गर्छ तर बुथले समेत खुद्रा बिक्रीमा बढी मूल्य लिई ठग्ने गरेको उपभोक्ताको गुनासो छ ।