शीर्षकहरू

तीव्र गतिमा बढ्दैछ भोकमरीको सन्त्रास

तीव्र गतिमा बढ्दैछ भोकमरीको सन्त्रास

अहिले नै खाद्य संकटसँग जुधिरहेको नेपाल आउने वर्ष ठुलो भोकमरीको स्थितिमा पुग्ने त्रास सुरु भएको छ। सरकारले मलमा दिँदै आएको आर्थिक अनुदान कटौती गरेपछि त्यसको प्रतक्ष्य प्रभाव खाद्यान्न उत्पादनमा पर्ने देखिए सँगै यस्तो अनुमान गर्न थालिएको हो। 

नेपालका किसानहरूले आवश्यक परेको बेला मल नपाउने समस्या निकै पुरानो हो। यहाँका किसानहरूले बर्षौंदेखी जुन मात्रामा आवश्यक हो त्यो मात्रामा मल उपलब्ध नहुँदा बालीमा मल हाल्न पाएका छैनन्। जसले गर्दा उत्पादनमा कमी आउने गरेको छ। त्यसमाथि अहिले सरकारले गरेको मलमा अनुदान कटौतीको निर्णयले त झन् किसानले अन्न बालीमा मल हाल्नेबारे सोच्नै नसक्ने अवस्थामा पुर्‍याएको छ। 

यो हिउँदमा देखा परेको खडेरीले गहुँ, आलु र मकै जस्ता हिउँदे बालीको उत्पादनमा व्यापक गिरावट आएको छ। यसको प्रतक्ष्य असर यस्तो असर खास गरी पश्चिम नेपालका बाजुरा, अछाम, दार्चुला, जुम्ला, हुम्ला, मुगु, दैलेख, रुकुम, कालिकोट, डोल्पा एवं रोल्पा जिल्लाहरूमा पर्ने अनुमान छ। अब लगत्तै बर्खे झरी समेत निकै कम हुने पूर्वानुमानहरूले धान बालीको उत्पादन पनि घट्ने देखिएको छ। खेतीमा निर्भर लाखौँ नेपालीहरूको लागि अब देखा पर्ने खाद्य सङ्कटले जीवन र मृत्युको प्रश्न खडा गर्ने देखिएको छ। 

एकातिर नेपालमा यस्तो अवस्था देखापर्दैछ भने उता विश्वव्यापी रुपमा खानेकुराको भाउमा आएको वृद्धिले आयातित अन्न किनेर भोक मार्ने सम्भावनालाई समेत कमजोर बनाउँदै लगेको छ। कोभिड महामारीले धराशायी बनेको विश्व अर्थतन्त्र राम्रोसँग सम्हालिन नपाउँदै सुरु भएको रुस–युक्रेन युद्ध लम्बिँदै जाँदा विकासशील र विकासोन्मुख मात्र नभई विकसित मुलुकले समेत चरम मूल्यवृद्धि, खाद्यान्न अभावलगायत समस्यासँग जुध्नु परिरहेको छ। विश्वव्यापी रुपमा खाद्यान्नको आपूर्तिमा समस्या देखिँदै गर्दा संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रम, विश्व बैङ्कलगायतका निकायले यस्तो संकटसँग जुध्न विश्व समुदायलाई आह्वान गरिसकेका छन्। 

विश्वभरका कृषिसँग सम्बन्धित अधिकारीहरू, किसानहरू र अर्थशास्त्रीहरूसँगको रोयटर्सले लिएको अन्तर्वार्ता अनुसार विश्वले सायद यस स्तरको कृषि क्षेत्रको अवरोध एकै पटक सबैतिर कहिल्यै देखेको छैन। जसको अर्थ के हुन्छ भने विश्वव्यापी खाद्य सुरक्षामा फर्किन संसारलाई नै वर्षौँ लाग्न सक्छ।

प्रमुख कृषि निर्यातकर्ता युक्रेनमा रुसको आक्रमणले गहुँ, भटमास र मकैको मूल्य यस वर्षको सुरुमा रेकर्डमा पुगेको छ। त्यो घट्ने कुनै लक्षण अझैसम्म देखा परेको छैन। 

नेपालमा मात्र होइन खराब मौसमले चीन, भारत, दक्षिण अमेरिका र युरोपका केही भागहरूमा पनि अन्नको उत्पादन ठुलो मात्रामा घटाएको छ। यस बिचमा मलको अभावले विश्वभरि धेरै बालीहरूको उत्पादनमा कटौती भइरहेको छ। युक्रेनको खाद्यान्न उत्पादनले युद्ध अघि विश्वको मकै निर्यातको १७ प्रतिशत र गहुँ निर्यातको ११ प्रतिशत हिस्सा ओगटेमा त्यो देश अहिले भग्नावशेषमा परिणत भइरहेको छ। त्यहाँ फेरी अन्नबाली उत्पादन हुने, भण्डारण र ढुवानी पूर्वाधारको पुनः निर्माण भएर सबै सुचारु हुन वर्षौँ लाग्न सक्छ।

उता अर्को महत्त्वपूर्ण खाद्यान्न उत्पादक उत्तर अमेरिकी मुलुकहरूमा अनाजको बीउ छर्ने काममा नै भएको ढिलाइले उत्पादनमा कमी ल्याउने देखिएको छ। मकैको शीर्ष-उत्पादक संयुक्त राज्य अमेरिकामा मकै बालीले आपूर्ति शृङ्खला समस्या आउँदा उपभोक्ताहरूले मासुको लागि पहिले नै भन्दा बढी भुक्तान गर्नुपर्ने अवस्था बन्दै छ। मकै पशुहरूको दानाको प्रमुख स्रोत हो। जुन अभाव हुँदा त्यसले मासुको उत्पादनमा समेत असर पुर्याउँदैछ। 

विश्वका ११० भन्दा बढी मुलुकहरूमा धानको उत्पादन हुने भए पनि विश्वमा चामलको ८४ प्रतिशत आपूर्ति भने जम्मा १० देशबाट मात्रै हुने गरेको छ। पछिल्लो तुलनात्मक तथ्याङ्क अनुसार औसतमा चीनले ३५.१५ प्रतिशत, भारतले २७.५ प्रतिशत, इन्डोनेसियाले ८.४५ प्रतिशत, बङ्गलादेशले ८.१९ प्रतिशत, भियतनामले ६.५० प्रतिशत, थाइल्यान्डले ६.५० प्रतिशत, म्यानमारले ३.०५ प्रतिशत, फिलिपिन्सले २.८५ प्रतिशत, ब्राजिलले १.८७ प्रतिशत र जापानले १.८३ प्रतिशत धान  उत्पादन गर्दछन् । यसरी हेर्दा एसिया धनको ठुलो उत्पादक हो। तर, हामी भारत र चीन जस्ता सर्वाधिक बढी धान उत्पादकको बिचमा बसेर पनि भोकमरीको स्थितिमा पुग्दै छौँ। 

यसो किन भनिएको हो भने मूल्यवृद्धिको चाप नियन्त्रण गर्न चामल निर्यात गर्ने देशहरूले समेत निर्यातमा कडाइ गर्न थालेका छन्। उदाहरणको लागि भारतले कनिकाको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ भने चामलमा २० प्रतिशत कर लगाएर निर्यात गरिरहेको छ। यसको असर निम्न र निम्न मध्यम वर्गमा तुरुन्तै पर्ने देखिन्छ। आपूर्ति शृङ्खलामा आएको यस्तो अवरोधले अन्ततः भोकमरीको अवस्था सृजना गर्दै समग्र अर्थतन्त्रलाई गम्भीर खालको धक्का दिन्छ। 

यदि देशमै पर्याप्त उत्पादन नहुने हो र भारतले जस्तै अन्य देशहरू जसबाट नेपालले धान चामल आयात गर्छ उनीहरूले पनि आयातमा कडाइ गर्ने हो भने हाम्रो देशमा भोकमरीको अवस्था आउने निश्चित छ।