शीर्षकहरू

संकटमा समेत नहल्लिने यसरी बलियो खम्बा बन्यो कल्याणकारी सहकारी

संकटमा समेत नहल्लिने यसरी बलियो खम्बा बन्यो कल्याणकारी सहकारी

काठमाडौं । सामान्य आर्थिक समस्या सुल्झाउन बचत समूहबाट सुरु भएको संस्था हो, कल्याणकारी बचत तथा ऋण सहकारी । आजभन्दा ३० वर्षअघि वि.स २०४९ सालमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीहरूले आर्थिक गर्जो टार्ने भनेर खोलेका थिए यो, सहकारी।

त्यस बेला गठन हुँदा यसले व्यवसाय गर्ने, उद्योगमा लगानी गर्ने भनेर सोचेको थिएन । जम्मा १८ जना कर्मचारीहरूबाट मासिक ५० रुपैयाँका दरले जम्मा गरेर सुरु गरिएको यो संस्था अहिलेको संकटमा समेत नहल्लिने एक बलियो खम्बा बनेको छ। तर, त्यस बेला भने बचतकर्ताको घरमा तिथि श्राद्ध गर्दा, बच्चाको विद्यालयमा शुल्क तिर्न सहज होस् भन्ने खालका मात्र उद्देश्य बोकेर सुरु गरिएको थियो ।

बचत समूह सञ्चालन गरेको एक वर्षपछि राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी सुवर्ण कुमार कर्माचार्यले यसलाई सहकारीमा परिणत गर्नुपर्छ भनेर प्रस्ताव राखे । उनको प्रस्ताव अन्य बचतकर्ताहरूले पनि स्वीकारे । जस अनुसार नै वि.स. २०५० जेठ २६ गते यसको सञ्चालनार्थ तदर्थ समिति गठन गरियो । तत्कालीन मध्यमाञ्चल क्षेत्रीय सहकारी कार्यालयमा विधिगत रूपमा २०५० असार २८ गते २६ जना सदस्यहरूबाट १३ सय रुपैयाँ जम्मा गरी यो सहकारीको यात्रा सुरु भयो।

हाल यस कल्याणकारी सहकारीको शेयर पुँजी १६ करोड रुपैयाँ रहेको छ । यसले तीन वटा सेवाकेन्द्रहरु मार्फत सेवा उपलब्ध गराइरहेको छ। यी सबै सेवा केन्द्रहरू गाउँमा नै रहेका छन् । जसको केन्द्रीय कार्यालय लुभुमा रहेको छ भने अन्य सेवा केन्द्रहरू गोदावरी नगरपालिकाको गोलञ्जोर र कोतडाँडामा रहेको छ ।

अहिले पनि कोतडाँडामा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू छैनन् । जम्मा १२० घरधुरीबाट पैसा जम्मा गर्ने भन्दा पनि पुँजी आपूर्ति गरेर उनीहरूको जीवनस्तर उकास्ने भनेर एउटा सेवा केन्द्र त्यहाँ पनि विस्तार गरेको सो सहकारी प्रमुख कार्यकारी अधिकृत ९सिईओ० कुमार खत्री बताउँछन् ।

तीन वटा सेवाकेन्द्रहरु पनि दैनिक रूपमा चल्दैनन् । कोतडाडाँमा रहेका सेवा केन्द्र हप्तामा दुई दिन दुई घण्टा मात्र खुल्ने गर्छ । नाफा कमाउने हिसाबले भन्दा पनि उनीहरूलाई बचत गर्नुपर्छ र व्यापार व्यवसाय गरेर आर्जन गर्नुपर्छ भन्ने कुरालाई अभिप्रेरित गर्न सेवा दिइरहेको उनको भनाई छ ।

सहरी क्षेत्रमा अन्य सहकारीहरू खुलेका कारण अस्वस्थ्य प्रतिस्पर्धाका लागि सेवा केन्द्र विस्तार गर्ने चलन भएपनि आफूहरू त्यसो नगर्ने उनको भनाई छ । बरु, अरूले सेवा दिन नसकेको ठाउँमा उनीहरू पुग्ने गरेका छन्। ‘अरू नभएको ठाउँमा हामी जान्छौँ’, उनले भने ।

उनका अनुसार सहकारीको लगानी कटेज इन्डष्ट्रिज, कपडा उद्योग, हाते तान लगायतमा रहेको छ । त्यसबाहेक कृषि, वैदेशिक रोजगार, शिक्षा, घरजग्गा र हायर पर्चेजमा रहेको छ । हालसम्म सहकारीको लगानी एक अर्ब ६१ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

पछिल्लो समय सहकारीमा देखिएको समस्या बारे आफ्नो धारणा राख्दै खत्री भन्छन्, ‘हरेक क्षेत्रमा जोखिम छ । तर, बचतकर्ताहरूले सहकारीलाई माया गरिदिए भने जोखिम हुँदैन । माया गरेनन् भने मात्र लगानी जोखिममा जाने हो । लगानी गर्दा कस्तो ठाउँमा लगानी गरेको छ भन्ने कुराले पनि निर्धारण गर्छ ।’

सुशासन र आर्थिक आरचण भित्र बसेर लगानी गरिएन भने त्यो सहकारी जोखिममा पर्ने उनको तर्क छ । आफ्नो सहकारीमा पनि जोखिम नरहेको उनी दाबी गर्दैनन् । आफ्नोमा पनि केही जोखिम रहेको तर, त्यसलाई व्यवस्थापन गर्न सकिने उनको दाबी छ ।

सहकारी क्षेत्रका सञ्चालक र कर्मचारीहरूको क्षमता नपुग्दा त्यस्ता सहकारीमा समस्या आएको उनको भनाई छ । ‘सहकारीको शेयर पुँजी कतिसम्म हामीले परिचालन गर्न सक्छौँ भन्ने कुराको उनीहरूमा ज्ञान भएन । पुँजीलाई कसरी परिचालन गर्ने, कति लगानी गर्ने भन्नेबारे आवश्यक ज्ञान नभएकाहरूले सञ्चालन गरेका सहकारीमा समस्या देखिएको छ’, उनले भने ।  

सहकारी सञ्चालकहरू भाग्नुपर्ने स्थिति किन आउँछ भन्ने आर्थिक न्युजको प्रश्नमा उनी अगाडी भन्छन्, ‘सहकारीको पुँजी परिचालन गर्ने क्षमता नभएकाले सहकारी संस्थामा सङ्कट आएको हो । सुशासनमा नचलेका कारण, अव्यवस्थित रूपमा लगानी गरेको र सहकारीको मूल्य मान्यता विपरीत चलेका कारण सहकारी संस्थाहरू भाग्ने स्थितिमा पुगेका हुन्।  पैसा थियो भने किन भाग्थे र ?’ सहकारी संस्थाको आकार र उचाइ बढ्यो तर सञ्चालकको ज्ञानको उचाइ भने बढ्न नसकेकोले भाग्ने अवस्था बनेको उनको भनाई छ।

अहिले कतिपय सहकारीले जानीजानी जोखिम मोलेको उनको भनाई छ । ५ लाखमा जग्गा किन्दै छ भने सञ्चालकहरूले ८ लाखको मूल्याङ्कन गरेर आठ लाखमा किन्ने अनि तीन लाख रुपैयाँ कमिसन खाने र बेच्दा १२ लाख रुपैयाँ आउने छ भने १० लाखमा बेचेर फेरी २ लाख रुपैयाँ कमिसन खाने गरेको प्रशस्तै उदाहरण उदाहरण आफूसँग रहेको उनी बताउँछन् ।

तर, कति सहकारीहरूले भने यो पैसा कसको हो भन्ने नचिनीकन दायित्व बिर्सिएर लिडर बन्नका लागि लगानी गरेका कारण पनि संस्थाहरू बिग्रिएका छन् । केही संस्थाहरू चलाउन नजानेर बिग्रिए । केही सुशासनमा चल्न नसकेर बिग्रिए। कोही मैले कमाउनुपर्छ भन्ने मान्यताले बिग्रिए । तर, कतिपय संस्थाहरूले राम्रोसँग काम गर्दागर्दै पनि अस्वस्थ प्रतिस्पर्धाका कारण पनि समस्यामा परेका छन् । समग्रमा भन्नुपर्दा वित्तीय अनुशासन र नीति नियम नमानेका कारण समस्यामा परेका छन् ।

‘कतिपय सञ्चालकहरू सार्वजनिक मञ्चमा नै कहाँ सबै कानुन मान्न सकिन्छ र रु भन्ने पनि गर्छन् ।’ उनको गुनासो छ, ‘कानुन नै नमान्ने भए संस्था किन दर्ता गर्नु रु सहकारी ऐन नियमको पालना नगरेका कारण सहकारीहरू धराशायी बन्न पुगे।’

सहकारी प्रति बजारमा आएको हल्लाले धेरै सहकारीलाई भने असर परेको छैन । कतिपय हल्लाले आफ्नो सहकारीमा अवसर आएको बताउँदै सिईओ खत्री भन्छन्, ‘सदस्यहरूले माया गरिदिएसम्म संस्थालाई केही असर गर्दैन । हामीलाई कुनै पनि असर परेको छैन । हाम्रो लागि त झन् अवसर बनेको छ ।’

आफ्नो सहकारीको विरोध भन्दा पनि प्रशंसा गरेकोमा खुसी हुँदै उनी सुनाउँछन्, ‘कल्याणकारी नै ठिक छ भन्ने मान्छेहरूको जमात बढेको छ । बचत फिर्ता गर्न र ऋण लगानी गर्न समस्या छैन । बैंक भन्दा पनि बलियो कल्याणकारी सहकारी रहेछ भन्ने कुरा बचतकर्ताहरूमा छ ।’

उनले दाबी गरे अनुसार कल्याणकारी सहकारीले स्थापनाकालदेखि राज्यले भनेका कुराहरू परिपालना गर्दै आएको छ । राष्ट्र बैंकले अनुगमन गर्दा पनि यस सहकारीको कुनै कैफियतहरू फेला परेनन् । अडिटमा पनि समस्या छैन । दुई पटक सघन अनुगमनमा पर्दा पनि यो सहकारी राम्रोमा परेको छ ।

यो सहकारीले तीन दशक पार गर्नुमा नीति नियममा नै अडिएर काम गर्नु रहेको उनले बताए । सिईओ खत्रीले भने, ‘हामीले नीति नियम नमानेको भए ३० वर्षको इतिहास तयार गर्न सक्दैन थियौँ । नेपालको उत्कृष्ट सहकारी संस्थाको रूपमा केन्द्रीय संघले पनि उत्कृष्टता दिँदैन थियो । हामीले कानुनले दिएको नीति नियम भन्दा बाहिर बसेर काम गरेका छैनौँ ।’

राज्यको लागि एक रुपैयाँ पनि कर नठगियोस् भन्ने उनको मान्यता छ । राज्यका लागि कर ठगियो भने मैले धुलोको सडकमा हिँड्नुपर्छ । मेरो बच्चाले राम्रो शिक्षा पाउँदैनन्। मैले राम्रो स्वास्थ्य पाउँदिन भन्ने कुरा हेक्का राख्नुपर्ने उनको सुझाव छ । उनी आफूले कमाएको रकमको ५० प्रतिशत कर राज्यलाई तिर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छन् ।

‘खल्ती टन्न भरिएको मान्छेले उत्ताउलो काम गर्छ । संस्थाहरू भरिएपछि भड्किलो काम गर्न थाले’, उनले अगाडी थपे, ‘तर, हामीसँग सहकारीले राम्रो काम गरेको प्रशस्त उदाहरणहरू छन् ।’

कल्याणकारीका सदस्यहरूले सुरुमा १० हजार रुपैयाँ ऋण लिएर अहिले करोडौँको व्यापार गरेको उनले सुनाए । एक बचतकर्ताको उदाहरण दिँदै खत्रीले भने, ‘लुभुको बसपार्क नजिक ५ हजार रुपैयाँमा सुरुवात गर्नुभएको चुरा पसलले अहिले करौडौंको व्यापार गरिरहेको छ । हाम्रो उद्देश्य ऋणीलाई ऋण दिएर मालिक बनाउने हो । कंगालीकरण गरेर हामी धनी हुने होइन ।’

सहकारीको साख फेरी जोगाउनका लागि सदस्यहरूको बिचमा जानुपर्ने उनको भनाई छ । ‘हामी मेम्बरकहाँ जान्छौँ । पैसालाई कसरी व्यवस्थापन गर्ने, कसरी सहज रूपमा परिचालन गर्ने, आम्दानी र खर्चको विवरण कसरी बनाउने र जीवनयापनलाई कसरी खुसी बनाउने। आफूसँग भएको पैसालाई कसरी अधिकतम ढङ्गले परिचालन गर्ने भन्ने कुराहरू कार्यक्रम बनाएर सिकाएका छौँ’, उनले सुनाए ।

मुलुकमा देखिएको आर्थिक मन्दीबाट बच्न के गर्नुपर्छ र व्यवसायलाई कसरी बचाउनुपर्छ भनेर कल्याणकारी सहकारीबाट ऋण लिएर व्यवसाय गरेका ५० जना व्यवसायीलाई एक दिनको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने तयारीमा संस्था लागेको छ । अहिले देखिएको तरलता संकटको असरले कल्याणकारीलाई छोएको छैन । ऋण लगानी गरेकै छ, बचत पनि आइरहेको छ ।  

अर्थतन्त्र गाउँको र सहरको एकनास नहुने एउटा राम्रो उदाहरण उनले सुनाए । खत्रीले भने, ‘दुई खालको अर्थतन्त्र देखिन्छ । गाउँको अर्थतन्त्र कमजोर भए पनि बलियो हुन्छ । यहाँ दूध र साग बेचेको पैसा हो । गाउँमा गाईले दूध दिएकै छ, साग बिकेकै छ, अन्नबाली उब्जेकै छ । गाउँको अर्थतन्त्र कमजोर भए पनि स्थायी र बलियो हुन्छ । तर, सहरको अर्थतन्त्र सम्पन्न भए पनि कमजोर हुन्छ । कुन बेला ढल्छ थाहै हुन्न ।’

समस्यामा रहेका सहकारीलाई राज्यले हेर्नुपर्छ भन्ने कुरामा उनी सहमत छैनन् । ‘सहकारी संस्थाहरूले सरकारबाट अनुदान खोजका हुन् भने म त्यसको विरुद्धमा छु । संस्था हामीले चलाउने अनि सञ्चालक गाडी चढ्ने, रेस्टुराँमा जाने र संस्था टाट पल्टिएपछि राज्यले २र४ करोड रुपैयाँ अनुदान दिनुपर्ने रु’ उनले प्रश्न गर्दै अगाडी भने, ‘जुम्लाका मान्छेले कर तिरेको पैसा काठमाडौंका सहकारीका मान्छेलाई पोस्न हो रु उनीहरूलाई फेरि रेस्टुराँमा जाने बनाउनका लागि हो भने म त्यसको विरुद्धमा छु ।’

सहकारी बचाउन सदस्यहरू नै चनाखो हुनुपर्ने उनले बताए । ‘अहिलेको स्थितिमा सहकारी बचाउने भनेको सदस्यहरूले नै हो । सदस्य नै मालिक हुन् । उनीहरूसँग नै पैसा छ, पावर छ, उनीहरूको अगाडी नै झुक्ने हो । जो झुक्न जान्दैन त्यो उठ्न जान्दैन । यसैले आफ्नो सहकारीको बारेमा सबै जानकारी सदस्यलाई हुनपर्छ’, खत्रीको भनाई छ ।