शीर्षकहरू

समस्याग्रस्त सहकारीबाट पैसा फिर्ता गर्नै समस्या, बचतकर्ताले अझै करिब एक अर्ब पाउन बाँकी

समस्याग्रस्त सहकारीबाट पैसा फिर्ता गर्नै समस्या, बचतकर्ताले अझै करिब एक अर्ब पाउन बाँकी

काठमाडौं । समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न निकै सकस पर्ने गरेको पाइएको छ । यसरी समस्यामा परेका सहकारीहरुका बचतकर्ताहरुको पैसा फिर्ता गर्ने जिम्मा सहकारी व्यवस्थापन समितिको कार्यालयलाई दिने गरिएको छ । तर, सहकारीको नाममा रहेको सम्पत्ति सबै सकिएर नाम मात्रै बाँकी रहेपछि कार्यालयलाई पैसा फिर्ता गर्न जिम्मा दिइन्छ । 

समस्याग्रस्त घोषित सहकारीबाट बचतकर्तालाई पैसा फिर्ता दिन समस्या हुने गरेको सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य सचिव केशव प्रसाद पौडेलले बताए । उनले भने, ‘हाम्रोमा समस्याग्रस्त घोषणा गर्नुअघिको प्रक्रिया नै झन्झटिलो छ । सरकारले सहकारीको नाममा रहेको बचतको पैसा र सम्पत्ति सबै सकिएपछि समस्याग्रस्त भनेर घोषणा गरिदिन्छ । केही नभएको सहकारीबाट बचतकर्तालाई कसरी पैसा फिर्ता दिने ।’

उनका अनुसार समस्याग्रस्त घोषणा गर्नुअघि बचतकर्ता र सञ्चालकको खाता रोक्का हुनपर्ने हो । सरकारले सहकारीका सञ्चालक र ऋणीहरुको खाता रोक्का नगरी विवरण पठाउँदा रकम उठाउन समस्या हुने गरेको पौडेलको भनाई छ । ‘एकातिर सहकारीको नाममा सम्पत्ति नै हुँदैन अनि अर्कोतिर बिना धितो ऋण दिएका हुन्छन् । पैसा कसरी फिर्ता गर्ने ?’, उनले गुनासो गरे ।   

यस्तै झनझटिलो प्रक्रियाका कारण अझै करिब एक अर्ब रुपैयाँ बचतकर्ताहरुले फिर्ता पाउन बाँकी छ । सदस्य सचिव पौडेलका अनुसार कार्यालयमा १२ वटा सहकारीका बचतकर्ताहरुबाट एक अर्ब ४४ करोड ४८ लाख रुपैयाँ दावी परेको थियो । उक्त दावी मध्ये हालसम्म सात वटा सहकारीका ४ सय ३५ बचतकर्ताहरुलाई ४५ करोड एक लाख रुपैयाँ बराबरको रकम फिर्ता गरेको उनले जानकारी दिए । 

कार्यालयका सदस्य सचिव पौडेलका अनुसार हालसम्म स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ १७५ बचतकर्ताले २१ करोड ८४ लाख रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमध्ये १९ जनालाई एक लाख ५७ हजार रुपैयाँ फिर्ता गरिएको उनले बताए । उक्त सहकारीका १५६ बचतकर्तालाई २१ करोड ८२ लाख रुपैयाँ भन्दाबढि बाँकी दायित्व रहेको छ । 

त्यसैगरी, प्यासिफिक सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका १७४ बचतकर्तालाई ३६ करोड २७ लाख रुपैयाँ रकम फिर्ता गरेको कार्यालयले जनाएको छ । उक्त सहकारीका ३५२ बचतकर्ताले ४८ करोड ७४ लाख रुपैयाँ बराबरको माग दावी गरेका थिए । जसमध्ये १७८ जनाको १२ करोड ४७ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ ।

पौडेलका अनुसार हालसम्म प्रभु बचत तथा ऋण सहकारीका १३८ बचतकर्ताले २६ करोड ७१ लाख रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमध्ये कार्यालले ११ जना बचतकर्ताको ५ लाख ८ हजार रुपैयाँ फिर्ता गरेको छ भने १२७ जनाको २६ करोड ६६ लाख रुपैयाँ रकम फिर्ता गर्न बाँकी रहेको छ । 

हालसम्म कार्यालयले कुवेर बचत तथा ऋण सहकारीका ६ जना सदस्यहरुलाई बचत फिर्ता गरेको छ । उक्त सहकारीका १० जना बचतकर्ताले एक करोड १३ लाख रुपैयाँ बराबरको मागदावी गरेका थिए । 

त्यस्तै, सोसाइटल बचत तथा ऋण सहकारीका १३३ बचतकर्ताहरुलाई ४ करोड ९९ लाख रुपैयाँ फिर्ता गरेकोे समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त सहकारीका २४० बचतकर्ताले १३ करोड ९५ लाख रुपैयाँ मागदावी गरेका थिए । बाँकी १०७ जना सदस्यहरुको ८ करोड ९६ लाख रुपैयाँ बाँकी दायित्व रहेको कायार्ललयले जनाएको छ । 

त्यसैगरी लुःनिभा बहुद्देश्यीय सहकारीका २१४ जना बचतकर्ताहरुले ११ करोड ७४ लाख रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा ७६ जना बचतकर्ताको २ करोड २० लाख रुपौयँ फिर्ता गरेको कार्यालयले जनाएको छ । १३८ जना बचतकर्ताको ९ करोड ५४ लाख रुपैयाँ रकम भने फिर्ता गर्न बाँकी रहेको छ । 

कार्यालयका अनुसार स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभका १६ जना बचतकर्ताको सबै रकम फर्छौट भएको छ । उक्त सहकारी विरुद्ध १६ जना बचतकर्ताले एक करोड ४८ लखारुपौयँ बराबरको मागदावी गरेका थिए । 

कार्यालयमा समस्याग्रस्त अवस्थामा रहेका सहकारीमध्ये भेगास बचत तथा ऋण सहकारीका १९ जना बचतकर्ताले ३ करोड ५४ लाख, चार्टर सेभिङ एण्ड क्रेडिट को अपरेटिभका १४ बचतकर्ताले १ करोड ६६ लाख रुपैयाँ बराबरको मागदावी परेको थियो । 

त्यस्तै, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका ५१ बचतकर्ताले ४ करोड ५२ लाख रुपैयाँ र कञ्जुमर बचत तथा ऋण सहकारीका ५९ बचतकर्ताले ८ करोढ ६७ लाख रुपैयाँ र ओरेण्टल को अपरेटिभका ७ हजार ६४६ बचतकर्ताले मागदावी गरेका थिए । 

कुवेर बचत तथा ऋण सहकारी संस्थाको सम्पति खोजी जारी रहेको उनले बताए । उनका अनुसार सोसाइटल बचत तथा ऋण सहकारी संस्थाको १०७ जनाको बचत फिर्ता बाँकी रहेको छ । उक्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्नका लागि जग्गा लिमामीमा निकाल्दा पनि आर्थिक मन्दीका कारण कसैले पनि बोलकबोल नगरेका कारण बचत फिर्ता गर्न समय लागेको उनको भनाई छ । 

बचत फिर्ता माग्ने १०७ जनाले नै जग्गा सकार्ने गरी उनीहरु आन्तरिक छलफलमा लागिरहेको उनले बताए । ‘सहमती भयो भने यसको पनि सबै बचत फिर्ता हुन्छ’, उनले भने ।  

उनका अनुसार लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षले साढे तिन रोपनी जग्गा बेचेर रकम फिर्ता गर्ने भनेको छ । मूल्यांकन गर्दा साढे नौं करोड रुपैयाँ जग्गाको पैसा पाइयो भने बचतकर्ताको रकम फिर्ता गर्न सकिने उनले बताए । यसका लागि चरणबद्ध रुपमा छलफल जारी छ । अदालतको ढिला सुस्तीका कारण पनि कार्य सम्पादनमा समस्या भएको उनको भनाई छ । ‘अदालतले अन्तरिम आदेश जारी गरेको छ । काम गर्न पाइदैन, हात बाँधिएको’, उनले भने । 

ओरेण्टल सहकारीको मुद्दाका कारण पनि रकम फिर्ता गर्न नसकेको उनले बताए । सुधिर बस्नेत र बचतकर्ताहरुलाई भेटाएर पनि छलफल गराएको जानकारी दिँदै उनले भने, ‘उसले चैत्र १२ गते सहकारीको योजना पेश गर्छु र आफ्नो नाममा रहेको सम्पति कति कहाँ छ, के के छ भनेर योजना सहित छलफलमा आउँछु भनेका छन् ।’ 

ओरेण्टल सहकारीका ऋणीहरुबाट ४२ लाख ३० हजार ९३७ रुपैयाँ रकम असुली गरेको उनले बताए । ‘एक लाख रुपैयाँ भन्दा कम रहेका बचतकर्ताको रकम फिर्ता गर्न ७७७ जनाको कागजपत्र भेरिफाइ गर्दैछौं’, उनले थपे ।

यसका साथै चार्टर सेभिङ एण्ड क्रेडिट को अपरेटिभको अभिलेखिकरण सम्पन्न गरी सफ्टवेयर सूचारु र अचल सम्पत्ति खोजतलास भइरहेको बताउँदै उनले पैसा उठ्ने क्रम चलिरहेको छ जानकारी दिए । उनका अनुसार कार्यालयले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिटको पनि १५ लाख रुपैयाँ बाँड्ने तयारी गरिरहेको छ भने भेगास बचत तथा ऋण सहकारी संस्थाको अभिलेखिरण खोजी तथा आवश्यक कार्य भइरहेको छ ।