शीर्षकहरू

कोशी प्रदेशका सहकारी रजिष्ट्रारसहितको टोलीद्वारा आदर्श सञ्चार सहकारीको अवलोकन

कोशी प्रदेशका सहकारी रजिष्ट्रारसहितको टोलीद्वारा आदर्श सञ्चार सहकारीको अवलोकन

  • रोहन जिसी    

बागलुङ । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय तथा प्रशिक्षण कार्यालय इनरुवाका सहकारी रजिष्ट्रार हरि बहादुर खत्रीले सहकारी क्षेत्रमा देखिएको संकट समाधानका लागि सदस्यसंगको सामिप्यता बढाउनु पर्नेमा जोड दिएका छन् । कार्यालयको टोलीसंगै बिहीवार बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडको अवलोकनका क्रममा खत्रीले यस्तो बताएका हुन् । 

केही सहकारीहरुले सुशासनको पालना नगर्दा, नीति नियम भन्दा बाहिर गएर सञ्चालन गर्दा तथा बढी ब्याजको प्रलोभन लगायतका समस्याका कारण सहकारीमा समस्या देखिन थालेको उनले बताए । हाम्रो देशमा सञ्चालन भएका सहकारीहरु मध्ये धेरैले सदस्यलाई वित्तीय तथा व्यावसायिक रुपमा सक्षम बनाएका छन्, राम्रो गरेकाहरु ओझेलमा पर्ने र नराम्रो अभ्यास गरेकाहरुका कारण समग्र सहकारी अभियानको साख गिराउने काम भएकाले सहकारी अभियान र सरकार मिलेर सहकारीको साख जोगाउनु पर्नेमा उनले जोड दिए । 

सहकारीलाई सवल र प्रभावकारी रुपमा सञ्चालनका लागि वित्तीय व्यवस्थापन, सुशासन र संस्थागत सञ्चालनमा ध्यान दिर्ने पर्ने भन्दै रजिष्ट्रार खत्रीले सदस्यसंगको सामिप्यता बढाउनुका साथै सदस्यहरुलाई सहकारीको यथार्थ अवस्था र यसबाट हुने फाइदाका बारेमा धेरै भन्दा धेरै जानकारी गराउनु पर्नेमा जोड दिए । सूचना र सञ्चार सहित सहकारी सचेतना र वचत तथा ऋणको कारोबारमा आदर्श सञ्चार सहकारी संस्थाले गरेको कामले सहकारी अभियानको सफलताका लागि महत्वपूर्ण योगदान गरेको उनले बताए ।          

सहकारीका असल अभ्यासहरुको बारेमा सूचना आदान प्रदान  गर्ने कुरामा सञ्चार सहकारीको प्रभावकारिता बढाउनु पर्ने उनको सुझाव थियो । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय तथा प्रशिक्षण कार्यालय मातहतमा १ हजार सहकारी संघ संस्था रहेका र कार्यालयका तर्फबाट ति सहकारीहरुको अनुगमन नियमन सहित प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको सहकारी अधिकृत मनोज कार्कीले जानकारी दिए । 

आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले अवलोकन टोलीलाई स्वागत गर्दै जिल्लाको सहकारी अभियानको अवस्था तथा सहकारीका संकट समाधानका लागि राज्यका तर्फबाट गर्नु पर्ने कामका बारेमा ध्यानाकर्षण गराएका  थिए ।     

संस्थाका सम्पादक राम बहादुर जिसीले आदर्श सञ्चार सहकारी संस्थाको शुरुवात, हालसम्मको अवस्था र आगामी योजना सहित धौलागिरी क्षेत्रको सहकारी अभियानलाई सबल बनाउन सादर्श सञ्चार सहकारी संस्थाका तर्फबाट भएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।