शीर्षकहरू

अपर तामकोशीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

अपर तामकोशीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) सँग अनुमति मागेको छ । कम्पनीले १ बराबर १ को अनुपातमा रू. १० अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्कासनका लागि फागुन १८ गते बोर्डसँग अनुमति मागेको हो । यस अघि फागुन १६ गते विद्यु्त नियमन आयोगले पनि कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिईसकेको छ । 

कम्पनीको भदौ ३ गते शुक्रवार सम्पन्न १४औं वार्षिक साधारण सभाले समेत शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरिसकेको अवस्थामा निष्कासन प्रक्रिया अघि बढाएको हो । बोर्डले अनुमति दिएपछि कम्पनीको हकप्रद शेयर निष्कासनमा आउनेछ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ । जलविद्युत कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत नियमन आयोगले गरेपनि यस कम्पनीले भने हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत आयोजनाहरु रोल्वालिङ खोलाला जलविद्युत र तामाकोशी–५ जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।

यो कम्पनी अझै नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी रू. ८२ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको हो । गत वर्ष यस अवधिसम्म रू. ३३ करोड ५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष वित्तीय खर्च बढ्दा खुद नोक्सानी बढेको हो । गत वर्ष रू. २ अर्ब २० करोडभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ३ अर्ब ६४ करोडभन्दा बढी भएको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले विद्युत विक्रीबाट ३६ दशमलव ७१ प्रतिशत बढी रू. ४ अर्ब ९८ करोडभन्दा बढी आम्दानी गरेको छ ।