शीर्षकहरू

पर्यटकको चलहपहल बढ्दै, दुई महिनामै भित्रिए एक लाख २८ हजार जना

पर्यटकको चलहपहल बढ्दै, दुई महिनामै भित्रिए एक लाख २८ हजार जना
फाइल फोटो

काठमाडौं । सन् २०२३ को सुरुवातदेखि नै नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने महिनामा पनि विदेशी पाहुना आउनेक्रम उत्साहजनक देखिएकोले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको हो । सुरुवाती दुई महिना अर्थात जनवरी र फ्रेब्रुअरीमै एक लाख भन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् ।  

नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को दुई महिनामा एक लाख २८ हजार ३२९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको भनाई छ ।  

बोर्डको तथ्यांक अनुसार गत जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् । यस महिना सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । २०२३ को जनवरीमा भारतबाट मात्रै १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् । 

त्यस्तै, सबैभन्दा बढी पर्यटक आएकाहको दोस्रो स्थानमा अमेरिका रहेको छ । जहाँबाट यस महिना ६ हजार ५६१ जना पर्यटक नेपाल आएका थिए । यसका साथै अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् । 

जनवरीमा भन्दा बढी पर्यटक फ्रेब्रुअरी महिनामा आएका छन् । फेब्रुअरी महिनामा ७३ हजार २५५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा १८ हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएको देखिन्छ ।   

अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

यस वर्षको फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । 

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

विदेशी पर्यटकको खर्चबारे अध्ययन गरिदै  
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ ।    बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले केहि दिन अघिदेखि सर्भेक्षण सुरु गरेको हो । 

बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्याङ्क निकाल्ने लक्ष्यका साथ अध्ययन सुरु गरिएको जानकारी दिए । उनले भने, “दुई हजार नमुना सङ्कलन गरिनेछ । बोर्डबाट खटिने पाँच कर्मचारीले हरेक दिन १० वटा प्रश्नको फाराम भरेर ४० दिनभित्र यो काम सक्नेछन् ।” बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का विद्यार्थी यो अध्ययनमा सम्लग्न छन् ।

नेपालमा विदेशी पर्यटकले कति खर्च गर्छन् भन्ने यकिन तथ्याङ्क निकाल्न यो अध्ययनले सहयोग पुग्ने निर्देशक लामिछानेले उल्लेख गरे । उनका अनुसार सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको छ । सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गर्ने गरेका छन् । सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने निर्देशक लामिछानेको भनाइ छ ।