शीर्षकहरू

आशा लघुवित्तको साधारण सभा चैत ११ गते

आशा लघुवित्तको साधारण सभा चैत ११ गते

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ३३ करोड ३९ लाख १४ हजारको आधारमा १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव संशोधन गरेको हो ।

कम्पनीको माघ २३ गतेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले कम्पनीलाई घटाएर लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेसँगै कम्पनीले लाभांश संशोधन गरेको हो ।

उल्लेखित प्रस्तावसँगै स्वतन्त्र सञ्चालक नियुक्तीको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि फागुन  २६ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।