शीर्षकहरू

सहकारीमा अवैध रकम खोज्न सरकारलाई चुनौती, अध्यक्ष भन्छन्: बचतको सीमा तोक्न पाइँदैन

सहकारीमा अवैध रकम खोज्न सरकारलाई चुनौती, अध्यक्ष भन्छन्: बचतको सीमा तोक्न पाइँदैन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीमा आएको अवैध रकम खोज्न सरकारलाई चुनौती दिएका छन् । आइतबार सहकारीमा सङ्कट कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् । 

अध्यक्ष कँडेलले भने, ‘गैरकानुनीरुपमा आर्जन भएको पैसा सहकारी क्षेत्रमा आउनु हुँदैन । यसरी सहकारीमा आएको पैसाबारे राज्यले छानबिन गरोस् । सहकारीमा भएको यस्तो सम्पत्तिबारे कारबाही हुनु पर्छ भन्ने हाम्रो पनि मान्यता हो ।’ 

तर, विकृति फैलियो भन्दै बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु खोज्नु राम्रो नभएको उनको तर्क छ । यसअघि सरकारले सहकारीमा बचतको सीमा तोक्दै बढीमा प्रतिव्यक्ति २५ लाख रुपैयाँ मात्रै राख्न पाउने सीमा निर्धारण गरेको थियो । 

सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि राज्य पनि लाग्नु पर्ने आवश्यक रहेको उनको भनाई छ । यस्ता समस्या समाधान गर्न तत्काल गर्नु पर्ने कामहरूबारे सहकारी क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर समेत छलफल गरेको उनले जानकारी दिए ।   

‘सहकारी ठूलो बन्दैमा बिग्रिन्छ भन्ने होइन । १० अर्ब भन्दा बढी पुँजी भएको सहकारीहरू पनि रहेका छन्’, उनले अगाडी थपे, ‘कोरोना महामारी र विश्वभर आएको आर्थिक मन्दीको असर नेपालमा पनि परेको छ । यसले गर्दा समग्र वित्तीय क्षेत्रमा समस्या देखिएको छ । सहकारीमा मात्रै यस्तो समस्या देखिएको होइन ।’