शीर्षकहरू

तुलसी सहकारीका दुई सञ्चालक पक्राउ, अध्यक्ष सम्पर्कविहीन

तुलसी सहकारीका दुई सञ्चालक पक्राउ, अध्यक्ष सम्पर्कविहीन

काठमाडौं ।  बचतकर्तालाई रकम दिन नसकेपछि तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अनिता गौतम र सचिव सविता न्यौपानेलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मा भने सम्पर्कविहीन हुनुभएको छ ।

बचतकर्ताले जम्मा गरेको रकम फिर्ता दिन नसक्दा फरार अध्यक्ष शर्मा अहिले आफ्नै सञ्चालक समितिको सम्पर्कमा छैनन् । सहकारीका कर्मचारी र बचतकर्तासँग पनि कुरा हुन सकेको छैन । विराटनगर महानगरपालिका–२ मा मुख्य कार्यालय रहेको यो सहकारी संस्थाका सदस्य र बचतकर्ता आफ्नो रकम फिर्ता माग्दै दैनिक जिल्ला प्रहरी कार्यालय मोरङमा धाउँदै आएका छन् । 

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले बचतकर्ता र सदस्यले दैनिक दबाब बढाएका कारण उपाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर दुव्र्यवहार मुद्दामा म्याद थप गरिएको जानकारी दिए । उनीहरूलाई भाग्न नदिने र आक्रोशित बचतकर्ताबाट सुरक्षित राख्नका लागि पनि नियन्त्रणमा लिइएको हो । सहकारी संस्था र सञ्चालकका नाममा चल तथा अचल सम्पत्ति रहेका कारण कारोबार मिलाउने प्रतिबद्धता कुरेर बसेको बताए । 

यो सहकारी संस्थाले ऋण तथा बचतसँगै डिपार्टमेन्ट स्टोर सञ्चालन गरेको थियो । ती सबै अहिले बन्द भएपछि बचतकर्ताको करोडौँ रकम जोखिममा परेको छ । 

विराटनगरमा पाँच हजार बचतकर्ताको रकम जोखिममा परेको छ । झन्डै ७० करोड रुपियाँ बचत भएको बताइएको छ । यो सहकारी संस्थाले झापाको दमक, उदयपुरको गाईघाट, सिरहाको गोलबजार र काठमाडौँमा समेत सहकारी संस्था÷शाखा सञ्चालन गर्ने भन्दै सदस्यबाट धेरै बचत सङ्कलन गर्दै आएको थियो । सेयर पुँजी १० करोड रुपियाँ रहेको यो सहकारी संस्थाको निक्षेप डेढ अर्ब रुपियाँ छ । झापाको दमकमा रहेको शाखा र डिपार्टमेन्टल स्टोर बन्द छन् भने उदयपुरको शाखामा समेत बचतकर्ताले ताला लगाइसकेका छन् । 

मुलुकभर जग्गा
तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष शर्माको नाममा झापाको चन्द्रगढी, दमक, इटहरी, विराटनगर र काठमाडौँमा जग्गा रहेको दाबी बचतकर्ताको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयमा पुगेका एक बचतकर्ताले एउटै प्लटमा एकै पटक खरिद गरेको जग्गा आफ्ना आफन्तको फरकफरक नाममा समेत रजिस्ट्रेसन देखिएको दाबी गरेका छन् । 

विराटनगर–१९ को मिलन चोकमा १६ कट्ठा, झापाको गौरादहमा डेढ बिघा जग्गा सहकारी संस्थाको नाममा रहेको छ । त्यसबाहेक गाईघाटमा तीन सय रोपनी जग्गासमेत देखिएको छ ।