शीर्षकहरू

सवस्टेशन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज

सवस्टेशन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज

तनहुँ । यहाँको बन्दीपुर गाउँपालिका–६ सराङघाटमा ३३/११ केभी क्षमताको सवस्टेसन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज भएको  छ । उक्त सवस्टेशन सञ्चालनमा आएसँगै जिल्लाको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिमा सहज भएको हो । 

यसअघि आँबुखैरेनीबाट ११ केभीबाट विद्युत् लाइनबाट विद्युत् विस्तार गरिए पनि लामो लाइन भएका कारण पूर्ण क्षमताको विद्युत् प्रवाह नहुँदा समस्या भोग्नुुपरेको तनहुँ वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए ।  पहिला राम्रो भोल्टेज आउँदैनथ्यो, उनले भने, ‘अहिले ३३ केभी क्षमताको सवस्टेशनबाट पूर्णरुपमा भोल्टेज आएको छ ।’ साराङ्ग सवस्टेशनबाट देवघाट गाउँपालिकामा विद्युत् लाइन पुगिसकेको प्रमुख जोशीले बताए । 

“देवघाट गाउँपालिकाको वडा नं १, २, ३ र ५ केही ठाउँमा विद्युत् विस्तारको काम बाँकी छ । बजेट अभावले काम रोकिएको हो”, उनले भने । 
तीनवटै पालिकाका केही घरमा बाहेक सबै बस्तीमा विद्युत् पुग्नेछ, प्रमुख जोशीले भने, “देवघाट गाउँपालिका–४ मा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तारको कार्य तीव्रगतिमा गरिएका कारण उज्यालो तनहुँ यसैवर्ष घोषणा गर्न सकिने छ ।”

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सवस्टेसन निर्माण गरेको हो ।

आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सवस्टेसनदेखि बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटकोे बीच भागबाट तानेर सराङघाट सवस्टेसनसम्म पु¥याउने १९ किलोमिटर लामो ३३ केभी लाइनसमेत निर्माण भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको केन्द्र प्रमुख जोशीले बताए । 

सबस्टेशनबाट तीन पालिकाका उपभोक्तालाई निरन्तर  विद्युत् आपूर्ति हुनेछ । दुई ओटा  सवस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ग्रामीण विद्युतीकरणअन्र्तगतका चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य  छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलित ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।