शीर्षकहरू

भृकुटीमण्डपमा छालाका जुत्ता प्रदर्शनी हुने, छ महिनासम्मको वारेन्टी पाइने

भृकुटीमण्डपमा छालाका जुत्ता प्रदर्शनी हुने, छ महिनासम्मको वारेन्टी पाइने

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघले बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेलाको आयोजना गर्ने भएको छ । संघले ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’  भन्ने मूल नाराका साथ फाल्गुण ०३ गते देखि फाल्गुण ०९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो । 

संघले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त मेला बारे जानकारी गराएको हो । काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रर्दशनी स्थलमा हुने सो मेलाको उद्घघाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले गर्ने संघले जनाएको छ । 

नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई वैज्ञानिक रुपले आधुनीकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत सुपरिचित गराउदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने प्रर्दशनीको मूख्य लक्ष्य रहेको छ । त्यस्तै, मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने संघको लक्ष्य छ ।

उक्त मेलामा पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रदर्शन गरिने छ । त्यस्तै, गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ति प्रयोग गरि उत्पादन गरीएका जुत्ताहरु लगायत अल्लो तथा हेम्पद्वारा निर्मित वस्तुहरु पनि प्रदर्शन तथा बिक्री बितरण गरिने आयोजकको तयारी छ । यसका साथै अपाङ्गगता भएका व्यक्तिहरुका लागी विषेश किसीमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ । 

मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ । मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आकर्षक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध गराइने संघले जनाएको छ ।