aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 
उपन्यास चर्चा

'अमेरिकन पुँजीवादले स्वतन्त्रतालाई कसरी खर्लप्पै निलेको छ भन्ने स्वप्नभूमिले देखाउँछ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ माघ २०७९
Prabhu Bank
Motor Head
nabil bank
LBF
  • तुलसी आचार्य 

कथा, विषयवस्तु र भाषाशिल्प 

स्वप्नभूमि जुनसुकै पाठकले सरल तरिकाले बुझ्न सक्ने उपन्यास हो। यसको कथामा त्यस्तो कुनै जटिलता छैन । यसको विषयवस्तु सूचनामूलक तथा सन्देशमूलक रहेको छ । यसले गर्दा यी दुई पक्ष अरूभन्दा नयाँ हुन भन्ने लाग्छ । विषयवस्तु त्यस्तो पृथक् छैन। साधारण विषयवस्तु हो । तर, यसले दिन खोज्ने सन्देश, शिक्षा केही नौलो भने पक्कै छ। यो प्रस्तावनाबाट सुरु भएर उपसंहारमा अन्त्य हुन्छ । यो नयाँपन हो, उपन्यास लेखनमा । यसले दिने सन्देश र यसको लेखन शैली गरी दुई आयामले यो उपन्यासलाई अरूभन्दा फरक बनाएको छ ।

उपन्यासको साहित्यिक सौन्दर्यता 

फेरि पनि हामीले कुनै पनि साहित्यको भाषा, बनोट र त्यसको विषयवस्तुलाई हेर्दा त्यसका लक्षित पाठकलाई भुल्नु हुँदैन । मेरा पाठक को र कस्ता हुन् ? यो लेखनमा मेरो उद्देश्य के हो ? भन्ने कुरा पनि भुल्नु हुँदैन । त्यो सँगसँगै आफूले पस्किने भाषा पाठक अनुसार कस्तो छ, कुन तरिकाले मैले पस्किएँ भने सहज रूपमा ग्रहण हुनसक्छ भन्ने कुरा पनि लेखकले भुल्नु हुँदैन ।  

कला र उद्देश्यमूलक लेखनको सम्मिश्रण 

साहित्यले केही सूचना, सन्देश, चेतना दिनु पर्छ भन्ने कुरा सही नै हो । साहित्यले समाजलाई सिधै असर गर्छ या गर्दैन भन्ने फरक पाटो हो । भोलिका दिनमा राज्यले साहित्यलाई प्रोत्साहन गरेको खण्डमा, त्यसले नीतिगत तहमा परिवर्तन ल्याउन सकेको खण्डमा साहित्यले समाजलाई कति परिवर्तन गर्छ भन्ने हेर्न सकिन्छ। तर, अहिले राज्यले त्यो तहमा साहित्यलाई लिन नै सकेको छैन । तर, साहित्यले कुनै एक व्यक्तिलाई प्रभावित पार्न वा उसलाई नयाँ जानकारी दिँदै सुसूचित गर्न सक्यो भने त्यो पनि प्रत्यक्षरुपमा परेको प्रभाव नै हो । व्यक्ति व्यक्ति मिलेर समाज बनेको हुनाले यसले केही हदसम्म समाजमा प्रभाव पार्छ। त्यसैले व्यक्तिको, समाजको, चेतनाको स्तरलाई परिवर्तन गर्न पनि साहित्यले सक्नु पर्छ । साहित्यलाई राज्यले बुझेर नीतिगत तहमा ल्याउन सक्नु पर्छ।

आर्थिक सामाजिक संरचनाको प्रतिबिम्ब 

यो उपन्यास पढ्दा यसमा आर्थिक-सामाजिक पक्ष स्पष्ट रूपमा देख्न सकिन्छ । यहाँ अमेरिकन पुँजीवादी समाजको कुरा गरिएको छ। दीपक भन्ने पात्र अमेरिकी सपना बोकेर त्यहाँ जाँदा, एउटा भव्य समाजमा पुग्दा कुन खालको अपेक्षा लिएर गएको थियो र वास्तविकता कस्तो पायो भन्ने उल्लेख छ । जहाँ उसले धनी त बरु नेपाली नै रहेछन्, अमेरिकन समाज गरिब नै रहेछ भन्ने एउटा दृष्टिकोण बनाउँछ । हेर्दा स्वतन्त्रताको देश भने पनि पुँजीवादले देशलाई कसरी खर्लप्पै निलेको छ भन्ने वास्तविकता त्यहाँ देखिन्छ ।

दर्साएको खास समस्या 

समस्या खासगरि सपनाको देशको खोजीमा भौँतारिने नेपालीहरूको हो । यसमा दीपक पढ्न भनेर सपनाको देश अमेरिका गएको हो । उसले धेरै नेपालीको प्रतिनिधित्व गर्छ । दीपक जस्ता पात्र धेरै छन्, त्यहाँ । अमेरिका बाहेक जर्मनी, अस्ट्रेलिया, जापान लगायत देशहरूमा जो पढ्न भनेर जान्छन् उनीहरूले भोग्नु परेको समस्याहरू कस्ता कस्ता हुन्छन् भने देखाउनु यसको मूल ध्येय हो । दीपक जस्ता हजारौँ अन्य पात्रहरूले भोग्ने समस्याहरू यहाँ छ ।

प्रेमबारे भिन्न दृष्टिकोण 

यहाँ उल्लेख गरिएजस्तै दीपक र मलिसाबिचको सम्बन्धलाई मलिसाले कसरी लिएको छ भन्ने कुरा मुख्य हो । मलिसाले त्यो तहको गहिराइमा पुगेर प्रेम गरेको रहेनछ भन्ने बुझिन्छ । उसको समाज अनुसार जीवन साथी कस्तो हुनु पर्छ भन्ने उसको आफ्नै बुझाइ थियो होला । तर, त्यसमा दीपकको म्याचुरिटी आई नसकेको होला, सायद । यसले गर्दा दीपक र मलिसाको प्रेम सम्बन्धी परिभाषा, बुझाई फरक फरक थियो भन्ने यहाँ देखाइएको छ ।

नसमेटिएको पाटो, छोडिएका पात्र 

दीपक यसको मुख्य पात्र भएको हुनाले दीपककै कुरामा वरिपरि कथा घुम्छ । अरू पात्रहरूका पनि कथा पक्कै थिए । तर, ती पात्रहरूका सबै कथाहरू लेख्न थाल्दा यो उपन्यास कस्तो हुन्थ्यो, यसको शीर्षक के हुन्थ्यो भन्ने अझै पनि गाह्रो छ । यसका साथै यहाँ हरेक पाठकको आफ्नै बुझाइ हुन्छ । त्यो अनुसार जति समेटिनु पर्ने थियो त्यति नसमेटिएको हुनसक्छ । उनीहरू पुरै उपेक्षामा परेका होइनन्। अन्य पात्रहरूको पनि केही मात्रामा कथा  समेटिएको छ । तर, उनीहरूको भोगाइबाट कस्तो देखिन्थ्यो अमेरिका भनेर समेटिएको भए अझ राम्रो हुन्थ्यो होला । यो उपन्यास अर्कै बन्थ्यो होला । अहिले जुन शीर्षकमा छ त्यो फरक हुन सक्थ्यो होला भन्ने कुरा अझै पनि छलफलको विषय हुनसक्छ ।

कुन हो स्वप्नभुमि ?

स्वप्नभूमि ठ्याक्कै यही हो भनेर पाठकले थाहा पाउँन भन्ने मेरो मान्यता होइन । म त्यो चाहन्न पनि । त्यही भएकोले पाठक स्वयमले यो उपन्यास पढेर निर्णय गरून् भन्ने लाग्छ । मैले न अमेरिकालाई सय प्रतिशत नै नराम्रो हो भनेको छु न नेपाल नै स्वप्नभूमि हो भनेको छु  । किताबभित्र छिरेर दीपकको दृष्टिकोणबाट उसले स्वप्नभूमि किन भन्यो ? उसको आफ्नो पिडा, उसको आफ्नो भोगाई, सङ्घर्ष, जीवन कथा हरेक कुराहरूले त्यो निर्धारण गरेको हुन्छ । यसले गर्दा पाठकले यो उपन्यास पढेर एक प्रकारको चित्र आफै बनाउन् भन्ने मेरो विचार हो । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने भोलि कुनै पनि पाठक विदेश जाँदै छ भने उ जानु अघि एक प्रकारको अपेक्षा गरेको हुन्छ । जानु अघि यो किताब पढ्यो भने उसले आफूले सोचेको, अपेक्षा गरेको, कुराहरूले सजिलै सम्बोधन गर्न सक्ने कुरा हुन्छ । यो नै मेरो पहिलो आशय हो । दोस्रो कुरा, उसले स्वप्नभूमि के हो कस्तो हुन्छ भनेर आफै निर्णय गर्न सक्छ । यसले गर्दा स्वप्नभूमि यही हो भनेर भनेको छैन र भन्न चाहन्न पनि । 

प्रतिक्रिया दिनुहोस