शीर्षकहरू

आज प्रदेश सरकार ढल्ने सम्भावना, त्यसपछि कांग्रेसको नेतृत्व

आज प्रदेश सरकार ढल्ने सम्भावना, त्यसपछि कांग्रेसको नेतृत्व

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने भएका छन् । ५३ सदस्यीय प्रदेशसभामा नेकपा (एमाले) रावल पुस २७ गते २९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । यहाँ बहुमत ल्याउन २७ मतको आवश्यकता पर्छ । 

रावल त्यतिबेला नेकपा (एमाले)को १०, नेकपा (माओवादी केन्द्र)को ११, नागरिक उन्मुक्ति पार्टीको ७ र राष्ट्रिय प्रजातन्त्र पार्टिको १ सहित २९ सांसदको समर्थन लिएर मुख्यमन्त्री भएका थिए । उनलाई मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने अडान लिइरहेको छ । 

नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख शर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन । 

नागरिक उन्मुक्तिले विश्वासको मत नदिए नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का छ । यस प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा (एकिकृत समाजवादी)का ४ र एक स्वतन्त्र सांसद विपक्षमा रहेका छन् । एमाले नेतृत्वको सरकार ढलेमा प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार बनाउन पहल थाल्नेछ ।