शीर्षकहरू

मध्यपूर्वका चार वटा देशमा ७.८ म्याग्निच्युडको भूकम्पपछि ७८ वटा पराकम्पन

मध्यपूर्वका चार वटा देशमा ७.८ म्याग्निच्युडको भूकम्पपछि ७८ वटा पराकम्पन

एजेन्सी । मध्यपूर्वका चार वटा देश टर्की, सिरिया, लेबनान र इजरायल सोमबार बिहान भूकम्पले हल्लाएको छ । भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशमा अहिलेसम्म ९१२ जनाको ज्यान गएको जानकारी दिएका छन् । ५ हजार ३ सय ८५ घाइते भएको खबर छ । सिरियामा ३८६ जनाको मृत्यु भएको छ भने ६३९ जना घाइते भएका छन् । दुवै देशमा कुल मृत्यु हुनेको संख्या १३ सय नाघेको छ । लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर यहाँ कुनै क्षति भएको छैन।

भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप सहर थियो । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा छ। त्यसैले यसको वरपरका क्षेत्रमा थप विनाश भएको थियो। त्यसको प्रभाव पनि देखिन्छ । दमास्कस, अलेप्पो, हामा, लताकिया लगायतका धेरै सहरहरूमा भवनहरू भत्किएको खबर छ।

यसै क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टर्कीमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले १४० करोड भारतीयको भावना टर्कीसँग रहेको बताए । भारत सरकारले एनडीआरएफको खोज र उद्धार टोली र मेडिकल टोलीलाई राहत सामग्रीसहित टर्की पठाउँदैछ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ७.८ म्याग्निच्युडको भूकम्पपछि ७८ वटा पराकम्पन गएको छ । यी सबैको तीव्रता ४ र ६ बीचमा रह्यो । पहिलो भूकम्पपछि आएका ७ वटा पराकम्पनको तीव्रता ५ भन्दा बढी थियो । विज्ञहरूले आगामी केही घण्टा र दिनसम्म परकम्पहरू महसुस हुने बताएका छन्।