शीर्षकहरू

नेपाल लाइफले कमायो ४४ करोडभन्दा बढी नाफा

नेपाल लाइफले कमायो ४४ करोडभन्दा बढी नाफा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४४ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म रू. १३ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको कम्नपीले यस वर्ष २३७ प्रतिशत बढी खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको रू. ६५ करोड ५१ लाखभन्दा बढी आम्दानी गरेको छ भने रू. २१ करोड ५० लाखभन्दा बढी खर्च गरेको छ । गत वर्ष यस अवधिमा कम्पनीले रू. ४५ करोड ६ लाखभन्दा बढी आम्दानी गरेको थियो भने रू. ३२ करोड १ लाखभन्दा बढी खर्च भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको आम्दानी बढी र खर्च कम भएकाले खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार छ ।  जगेडा कोष रकम रू. ४८ करोड ४ लाखभन्दा बढी रहेको कम्पनीको जीवन बीमा कोषमा रू. १ खर्ब ५० अर्ब ८५ करोड कायम रहेको छ । 

दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शूल्क करिब २ प्रतिशत बढी रहेको छ । गत वर्ष रू. १८ अर्ब ११ करोडभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. १८ अर्ब ४० करोडभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।

गत वर्षभन्दा यस वर्ष खुद दाबी भुक्तानी साढे १५ प्रतिशत बढेको छ । गत वर्ष रू. ७ अर्ब ३० करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८ अर्ब ४४ करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ७३ र प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ०१ रहेको छ ।