शीर्षकहरू

कृषि सहकारीको पिडा : दूधमा फ्याट कम हुन्छ, बिक्रिगर्दा भ्याट लाग्छ

कृषि सहकारीको पिडा : दूधमा फ्याट कम हुन्छ, बिक्रिगर्दा भ्याट लाग्छ

काठमाडौं । मिडियामा कृषि कर्मका सफलताका कथा धेरै पढ्न पाइन्छ। तर, त्यसका चुनौती र कठिनाइका व्यथा त्यो भन्दा धेरै छन्, जुन कसैले सुन्दैन, लेख्दैन, भन्दैन। यो त्यस्तै एउटा कथा हो; जसमा सफलता, समस्या, पिडा, उत्साह र प्रेरणा एकैसाथ मिसिएर बसेको छ। 

यो प्रसङ्ग हो, एउटा गाई फार्मको। जुन बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्थाद्वारा सञ्चालित पशु स्रोत विकास फार्मका रूपमा सञ्चालनमा छ। उक्त फार्ममा ५ सय वटा गाईहरू रहेका छन् । ५ सय रोपनी जग्गामा सञ्चालित उक्त फार्ममा किसानहरूले ३ करोड ६० लाख रुपैयाँ लगानी गरेका छन् ।

तर, दूधबाट वार्षिक रूपमा भने ६/७ लाख रुपैयाँ मात्र आम्दानी हुने गरेको बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दीपक गौतम बताउँछन् । उनका अनुसार एउटा गाईले दैनिक ८ देखि १५ लिटर सम्म दूध दिन्छ । दूधको मूल्य प्रतिलिटर १२० रुपैयाँ रहेको छ । सहकारीले कृषकलाई (५.७) फ्याटको दूधको मूल्य ९५ रुपैयाँ दिने गरेको छ भने संघले सहकारीलाई प्रतिलिटर ९६ रुपैयाँ दिने गरेको छ । वार्षिक रूपमा दूधको कारोबार भने ६ करोड रुपैयाँको हुने गरेको छ ।

गाइको दूधमा भैँसीको दूधमा भन्दा फ्याट (घ्यू) को मात्रा कम हुन्छ। त्यसैले यसले फ्याटको मात्राको आधारमा राम्रो मूल्य प्राप्त गर्न सक्दैन। केही राम्रो मूल्य प्राप्त गर्न दूधलाई प्रशोधन गर्ने र अन्य सामग्री बनाएर मूल्य शृङ्खला बढाउने काम गर्दा अर्को लफडामा परिन्छ। त्यो हो, दुग्धजन्य पदार्थमा लाग्ने भ्याट। अध्यक्ष गौतम भन्छन्, ‘दूध उत्पादनमा भ्याट तिर्नु नपरे पनि दूधबाट उत्पादित वस्तुमा भ्याट तिर्नु परेको छ । उत्पादन लागत बढेको छ । तराईको तुलनामा पहाडी क्षेत्रमा लागत बढी छ । परालको ढुवानी महँगो छ ।’

उत्पादन लागतमा कृषकलाई राज्यले शतप्रतिशत अनुदान दिनुपर्ने उनको माग रहेको छ । दूध बिक्रीमा फाइदा हुने गरे पनि दूध खपतमा समस्या नहोस् भन्ने उद्देश्यले छुर्पीको पनि उत्पादन सुरु गरेको उनले सुनाए । उनका अनुसार छुर्पीको मूल्य प्रतिकिलो १२ सय रुपैयाँ रहेको छ । वार्षिक रूपमा २० लाख रुपैयाँ बराबरको छुर्पीको कारोबार हुने गर्छ ।

गौतमका अनुसार बागलुङ जिल्लामा दैनिक रूपमा ६५ सय लिटर दूधको माग रहेको छ । भने बागलुङ बजारमा मात्रै ४ हजार लिटर  दूधको माग रहेको छ । उक्त फार्ममा काम गर्ने कर्मचारीहरूले खाना र बस्न सहित मासिक रूपमा १३ हजार रुपैयाँ देखि २१ हजार रुपैयाँ सम्मको तलब पाउँछन् । केही कामदार स्थानीय भए पनि अन्य कामदारहरू भने तराईका रहेको उनले बताए ।

फार्म सञ्चालन गरेको सुरुवाती दिनहरूमा धेरै चुनौतीको सामना गर्नु परेको अध्यक्ष गौतम सुनाउँछन् । उनी भन्छन्, ‘बजारमा बसोबास गर्ने व्यक्ति र अन्य दुग्ध व्यवसायीहरूले हामी गरेको व्यवहार र टिप्पणीहरूका कारणले बिहान कृषकहरूले जम्मा गरेर ल्याएको दूध हामीले राती नालीमा खन्याउनु पर्थ्यो।’

अहिले अवस्था फेरिएको बताउँदै उनले भने, ‘अहिले  बिस्तारै बजारमा मानिसहरू पनि बानी पर्न थाले । हामीले उत्पादन गरेको दूध प्रति उनीहरू लालायित हुन थालेपछि बिस्तारै यो संस्था पनि बलियो हुँदै गएको छ ।’

संस्थाले दैनिक रूपमा २५ सय देखि ३ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । संस्था र किसानलाई राहत होस् भन्ने उद्देश्यले लिटरमा २२ प्रतिशत मुनाफा कायम राखेको जानकारी दिँदै अध्यक्ष गौतमले भने, ‘अहिले बजारमा १२० रुपैयाँ लिटरमा दूध बेच्छौ । त्यसमा २२ प्रतिशत मात्रै मुनाफा राखेर हामीले कारोबार गर्ने गरेका छौँ ।’

उनका अनुसार कृषकको खातामा मासिक रूपमा पैसा जाने गर्छ  । बागलुङ बजार सानो भएका कारण सबै दूध बिक्री नहुने भएकाले उनीहरूले दूधबाट पनिर, घ्यु, छुर्पी र लस्सी उत्पादन गर्ने गरेका छन्। बागलुङमा उत्पादन भएको छुर्पी काठमाडौँ हुँदै अमेरिकासम्म निर्यात हुने गरेको छ । ‘हामीले सिधै अमेरिका पठाउन सक्यौ भने अझै राम्रो हुन्थ्यो’, उनले भने । गौतमका अनुसार बागलुङ जिल्ला दूधमा आत्मनिर्भर छ । त्यहीको उत्पादनले बागलुङका बासिन्दालाई पुग्छ। बाहिरबाट आयात गर्नुपर्दैन । प्रतिस्पर्धाको बजार छ । तर, पोखराबाट पनि त्यहाँ दूध जान्छ। त्यहाँको दूध पनि पोखरा जाने गर्छ। 

उक्त संस्था सहकारी मात्र नभएर उद्योगको रूपमा घरेलु उद्योग कार्यालयमा पनि दर्ता भएको छ । हाल उक्त सहकारीमा जिल्लाको १४ वटा सहकारी संस्थाहरू आबद्ध रहेका छन् । १५ सय कृषकहरू यसमा जोडिएका छन् । दैनिक रूपमा ती कृषकहरूबाट १२ सय देखि १५ सय लिटरसम्मको दूध आउने गर्छ । हाल उक्त सहकारीमा व्यवस्थापक सहित १५ जना कर्मचारीहरू रहेका छन्  । समितिका कर्मचारीहरूले स्वयंसेवकको रूपमा नै काम गरिरहेका छन् ।