शीर्षकहरू

नेपाली कफीको डिएनएबारे प्रतिवेदन सार्वजनिक, भेटिए अरेविक, बर्बोन, इन्ट्रोग्रेस्ड र इथियोपियिन जात

नेपाली कफीको डिएनएबारे प्रतिवेदन सार्वजनिक, भेटिए अरेविक, बर्बोन, इन्ट्रोग्रेस्ड र इथियोपियिन जात

काठमाडौँ। नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन सहितको प्रतिवेदन आज (सोमबार) काठमाडौँमा सार्वजनिक गरियो। उत्तम कफीको जात पहिचान गरी नेपालको कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकूलनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा सञ्चालन भएको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा सो अध्ययन भएको थियो। 

प्रतिवेदन अनुसार वातावरण , कफी खेती , कफी भित्र्याए पछिका अभ्यासहरू तथा कफीका आणुवांशिक वा जातीय भिन्नताले कफीका बोटको उत्पादकत्व, जलवायु परिवर्तन अनुकूलनमा प्रभाव पार्ने क्षमता तथा कार्बन फुटप्रिन्ट नियन्त्रण मलखादको प्रयोग प्रभावकारिता तथा तयारी कफी कपको गुणस्तर निर्धारण गर्छ ।

नेपाल बर्बोन कफीको देश भएको निर्क्योल गर्दै यस प्रतिवेदनले एकै किसिमको आणवांशिक पृष्ठभूमिको कफीको जातमा मात्र भरपर्दा आउन सक्ने जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भू परिदृश्यमा विविधता ल्याउनु पर्ने सुझाव प्रतिवेदनले दिएको छ। अनुसन्धानको क्रममा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना सङ्कलन गरिएका थिए । 

नेपालमा रहेका कफीका जातहरूबारे राम्रोसँग बुझ्न तथा उच्च सम्भावना भएको कफी जातीको छनौट, कलमी तथा क्लनिङमा सुधारका उपायहरूको खोजीमा सो अध्ययन सहयोगी भएको बताइएको छ । किसानहरूलाई कफीका बिरुवाहरू वितरण गरिरहेका सरकारी तथा निजी नर्सरीहरूबाट अध्ययनका लागि नमुना बिरुवाहरू सङ्कलन गरिएका थिए ।

अनुसन्धानले समेटेका मध्ये ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन गरिएका मध्ये ९८ प्रतिशत बोर्बोन आणवांशिक पृष्ठभूमि रहेको देखिएको छ । ‘बोर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानहरूका लागि अनुकूल रहेकोले यस जातीकै आणवांशिक

एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकोले नेपालका लागि यो ठुलो जोखिम पनि हो,’ प्रतिवेदन अगाडि भन्छ ‘ ठूलोमात्रामा बोर्बोन कफीमा भरपर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ जुन अघिल्लो दशकमा ल्याटिन अमेरिकामा देखिएको थियो । ’ 

यो प्रतिवेदनले सरकारी नर्सरीहरूले आणवांशिक विविधता काम गरिरहेको देखाएको छ । अध्ययनको क्रममा सङ्कलन गरिएका नमुनाहरूमध्ये ८० प्रतिशत परम्परागत अरेविक जातका भेटिएका थिए । कुल नमुनाहरूमध्ये ७१ प्रतिशत बोर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड ( मिश्रित ) जात र ३ प्रतिशत इथियोपियिनपृष्ठभूमिका थिए ।