शीर्षकहरू

भ्रष्टाचार आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक ठाकुर प्रसाद गुरौसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

रुपन्देहीको साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकोमा जग्गाधनीको कुनै अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरुले पछाडिको मोहडा पट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई उनीहरुले नक्सा परिवर्तन गरेका थिए । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदावी गरिएको छ । 

तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौले रुपन्देही  जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ । 

साथै, बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरुले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको देखिएको आयोगको भनाई छ । उनीहरुले भ्रष्टाचार गर्न मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूर गरेकोले निजहरु शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसूरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।