शीर्षकहरू

पहिलो चरणको आईपीओ निष्कासन गर्दै मकर जितुमाया सुरी हाइड्रोपावर

पहिलो चरणको आईपीओ निष्कासन गर्दै मकर जितुमाया सुरी हाइड्रोपावर

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले माघ १५ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरका ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । स्थानीयमा जारी हुने कुल कित्तामध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गरिनेछ । 

यो आईपीओमा खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानीय बासिन्दाहरुले यो आईपीओमा अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ २९ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ २९ गतेभित्र आवेदन दिनु पर्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थलहरु, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको  दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरेको छ । ६ दशमलव ४ मेगावाट क्षमताको सुरिखोला जलविद्युत आयोजनाबाट २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु भएको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरिखोला आयोजनाबाट आगामी चैत्र ३० गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।