शीर्षकहरू

किन घट्यो नेपालका उद्योगमा लगानीको आकर्षण ?

किन घट्यो नेपालका उद्योगमा लगानीको आकर्षण ?

काठमाडौं । दुई साता अघि पुस १७ गते रियान्डा बिज सर्भले एउटा प्रतिवेदन सार्वजनिक गर्‍यो। डुइङ बिजनेस इन नेपाल (नेपालमा व्यापार/व्यवसाय/लगानी गर्ने वातावरण) सँग सम्बन्धी सो प्रतिवेदनले नेपालमा वैदेशिक लगानीकर्ताका लागि पछिल्ला वर्षहरूमा वातावरण सहज बन्दै गइरहेको देखाएको थियो। तर, त्यसको ठिक विपरीत पछिल्लो समय उद्योग क्षेत्रमा लगानी भने खस्किँदै गएको देखिन्छ । 

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा यो वर्ष औद्योगिक क्षेत्रमा लगानी २४.७३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा उद्योग क्षेत्रमा ४५ अर्ब रुपैयाँ भन्दा बढिले लगानी घटेको छ ।

गत आवको पुस मसान्तसम्म १५४ वटा स्वदेशी उद्योगका लागी १ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको थियो । तर, चालु आवको सोही अवधिमा भने १४३ वटा उद्योगका लागि १ खर्ब ४० अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ । यसले नेपालमा व्यापार/व्यवसाय वा उद्योग धन्धा खोल्न लगानीकर्ताहरू उत्साहित छैनन् भन्ने देखाएको छ।  

उद्योग क्षेत्रमा आउने विदेशी लगानी पनि घटेको देखिएको छ । गत वर्षको पुस मसान्तसम्म विदेशी लगानीका रुपमा उद्योग क्षेत्रमा ३० अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो । तर, यो वर्षको सोही अवधिमा विदेशी लगानीका उद्योगका लागि २० अर्ब २ करोड रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ ।

उच्च ब्याजदर प्रमुख कारण 

तरलता अभावका कारण उद्योग क्षेत्रमा लगानी घटेको अर्थविद् डिल्लीराज खनालको तर्क छ। उनी भन्छन्, ‘मुलुकमा तरलता अभाव छ । उच्च ब्याजदर छ । यसै पनि उत्पादन, कारोबार लागत उच्च भएको ठाउँमा उद्योग व्यवसायमा प्रतिस्पर्धा हुन सक्दैन यसले गर्दा पनि यो क्षेत्रको लगानी खस्किएको हो ।’

उनका अनुसार यसअघि खोलिएका उद्योग नै पूर्ण रुपमा चल्न सकेका छैनन् । त्यस बाहेक चर्को मूल्यवृद्धिका कारण माग पनि घटेको छ । विभिन्न समस्याका कारण निर्यातजन्य उद्योगहरू पनि फस्टाउन सकेका छैनन् । त्यसैले लगानीकर्ता आकर्षित हुन सकेनन्। 

त्यस्तै, प्रतक्ष्य वैदेशिक लगानीको रुपमा खर्बमा लगानी प्रतिबद्धता भए पनि भित्रिने बेला अर्बमा पनि नभित्रिने गरेको यथार्थता समेत खनाल स्मरण गर्छन्। नीतिगत रुपमा सुधार भएपनी व्यवहारिक रुपमा त्यसको कार्यान्वयन नहुँदा विदेशी लगानीकर्ताले कानुनी सहजताको अनुभूति गर्न सकेको देखिँदैन।  

जलविद्युत क्षेत्रमा छ आकर्षण

पछिल्लो समय जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण भने बढ्दो रहेको देखिन्छ । चालु आवको पुस मसान्तसम्म जलविद्युत क्षेत्रमा मात्रै ८९ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार यस अवधिमा जलविद्युत क्षेत्रका २७ वटा उद्योगका लागि ८९ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

तथापि आफ्नो लगानी भएका बाहेक अन्य परियोजनाबाट उत्पादित बिद्युत् आफुले खरिद नगर्ने भारतीय भनाइले जल विद्युतमा लगानी गर्न उत्सुक धेरै लगानीकर्तालाई झस्काएको छ। सरकारले भारतसँग यस विषयमा गहन र गम्भीर छलफल गरेर लगानीकर्तालाई उत्पादित बिजुलीको बजार सुनिश्चितता नगर्ने हो भने हालको प्रतिवद्दता समेत ठोस लगानीमा परिणत हुने सम्भावना देखिँदैन।   

अन्य क्षेत्रको स्थिति 

जलविद्युत पछि सबैभन्दा बढी लगानी प्रतिवद्दता पर्यटन क्षेत्रमा आएको देखिन्छ । यस अवधिमा पर्यटन क्षेत्रका होटल, क्याफे रेष्टुरेन्ट, रिसोर्ट, केबलकार, इन्टरटेन्मेन्ट हस्पिटालिटी ग्रुप लगायतका क्षेत्रहरूमा लगानी प्रतिबद्धता आएको देखिन्छ । विभागका अनुसार चालु आवको पुस मसान्तसम्म पर्यटन क्षेत्रका ३० वटा उद्योगका लागि १८ अर्ब ९० करोड ७८ लाख रुपौयँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

त्यसैगरी, यस अवधिमा पूर्वाधार क्षेत्रका ५० वटा उद्योगका लागि १७ अर्ब २ करोड २९ लाख रुपैयाँ, सेवामूलक क्षेत्रका २६ उद्योगका लागि १४ अर्ब २० करोड ९८ लाख रुपैयाँ, खनिज क्षेत्रका २ उद्योगका लागि २९ करोड ९७ लाख रुपैयाँ र कृषि तथा वन क्षेत्रका २ उद्योगका लागि ४८ करोड ५९० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

एक महिनामा १८ उद्योगका लागि २४ अर्बबढि लगानी प्रतिबद्धता

चालु आवको पुस महिनामा मात्रै १८ वटा उद्योगका लागि २४ अर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार यस अवधिमा विभिन्न क्षेत्रका साना, मझौला तथा ठुला उद्योगका लागि २४ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा जलविद्युत क्षेत्रमा ८ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ र पर्यटन क्षेत्रका लागि ५ अर्ब ७ करोड ५४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, सोही अवधिमा सेवामूलक क्षेत्रका उद्योगका लागि ५ अर्ब ५८ करोड रुपैयाँ, पूर्वाधार क्षेत्रका लागि ४ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ, टेक्नोलोजीमा आधारित उद्योगका लागि ६ करोड रुपैयाँ र  कृषि तथा वन क्षेत्रका उद्योगका लागि २५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

डुइङ बिजनेस रिपोर्टको विश्वसनीयता 

एकातिर डुइङ बिजनेस रिपोर्टका रुपमा सार्वजनिक हुने प्रतिवेदनले लगानी बढ्ने प्रक्षेपण गर्ने तर वास्तवमा लगानी घट्दै जाने बिचको विरोधाभासको कारणहरू छन्। यस्ता रिपोर्टहरू यथार्थपरक हुँदैनन् भन्ने आलोचना पछि विश्वभरका देशबारे यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको विश्व बैंकले डुइङ बिजनेस रिपोर्ट नै सार्वजनिक गर्न छाडेको छ। भ्रमपूर्ण तथ्यहरू रहेको भन्दै आलोचना भएपछि सन् २०२० देखि विश्व बैंकले उक्त प्रतिवेदन तयार पार्न छोडेको हो।

विश्वभरका देशहरूमा रहेको लगानीको वातावरण र श्रेणी छुट्याउने सो प्रतिवेदनमा विश्व बैंकले सन् २०२० मा नेपालको अवस्था एकै पटक १६ अंकको सुधार भएको देखाएको थियो। त्यसअघि ११० औँ स्थानमा रहेको नेपाल  ९४ औँ स्थानमा उक्लिएको तथ्यांक प्रस्तुत गरिएको थियो। तर, त्यो यथार्थपरक नरहेको भन्ने टिप्पणी त्यसै बेला नै गरिएको थियो। 

अहिले रियान्डाको प्रतिवेदनले पनि त्यसयता क्रमिक रुपमा नेपालमा लगानीको वातावरण सुध्रिइरहेको देखाएको छ। विगत ६ वर्षदेखि डुइङ बिजनेस इन नेपाल नाममा प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको रियान्डाले नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्यांक विभाग जस्ता राष्ट्रिय तथ्यांक स्रोतहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको तथ्यांक तथा स्रोतहरूको अध्ययन तथा विविध अनुसन्धानका आधारमा यो प्रतिवेदन तयार पारेको दाबी गरेको छ। तर, सम्बन्धित विभागको तथ्यांकले भने सो प्रतिवेदनलाई सही साबित गर्ने देखिँदैन।