शीर्षकहरू

मधेश प्रदेशमा पर्यटकको आगमन २५४ प्रतिशतले बढ्यो

मधेश प्रदेशमा पर्यटकको आगमन २५४ प्रतिशतले बढ्यो
फाइल फोटो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको समष्टिगत आर्थिक, वित्तीय र वाह्य क्षेत्रसंग सम्बन्धित तथ्याङ्क तथा विवरण समावेश गरी आर्थिक गतिविधि अध्ययन प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६ (प्रथम संशोधन, २०७९ सहित) अनुसार यस्तो प्रतिवेदन अर्ध–वार्षिक र वार्षिक गरी वर्षको दुई पटक प्रकाशन हुने व्यवस्था रहेको छ ।  

सोही बमोजिम प्रदेश कार्यालय जनकपुरले तयार गरेको प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असारसम्मको वार्षिक विवरणमा आधारित रहेको छ । जुन प्रतिवेदनमा मधेश प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशमा प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्रफलमा ०.३० प्रतिशतले ह्रास आई ११ लाख ६३ हजार २९ हेक्टर पुगेको छ । यस आर्थिक वर्षमा प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा ०.५३ प्रतिशतले ह्रास आई ६३ लाख ८२ हजार ६ सय १२ मे.टन पुगेको छ ।  

समीक्षा वर्षमा दुधको उत्पादनमा ६.०३ प्रतिशतले ह्रास आएको छ भने मासु, अण्डा र छालाको उत्पादनमा क्रमशः ६.४९, २.३३ र ४.८५ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी माछाको उत्पादनमा ६.४२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा रु.५३ अर्ब ९५ करोड पुगेको छ जुन कुल कर्जाको १२.५५ प्रतिशत हुन आउँछ ।

समीक्षा वर्षमामा यस प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ६३.९८ प्रतिशत रहेको छ भने उत्पादन वृद्धि औसतमा ५.२३ प्रतिशत रहेको छ । समीक्षा वर्षमा यस प्रदेशमाा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २.९५ प्रतिशतले ह्रास आई रु.१ खर्ब २ अर्ब १३ करोड पुगेको छ । 

मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५२.३९ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३०.५७ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादन तर्फ ७.६२ प्रतिशत, निर्माण उद्योगतर्फ ७.२७ प्रतिशत, खानी उद्योगतर्फ १.६६ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.४८ प्रतिशत कर्जा प्रवाह भएको छ । 

समीक्षा वर्षमा मधेश प्रदेशको पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीहरूको संख्या र पर्यटकको आगमनमा क्रमशः ३६.४३ र २५४.५९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेसन संख्यामा १७.११ प्रतिशतले वृद्धि भएको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा ३३.२२ प्रतिशतले ह्रास आएको छ । स्थानिय तहबाट जग्गा वर्गिकरणको काम नभएसम्मको लागि कित्ताकाट रोकिएको हुँदा नयाँ विक्रिबापतको रजिष्ट्रेशन कम भई अंश पास बापतको तथा महिलाको नाममा बढि रजिस्ट्रेशन हुने गरेको कारण रजिष्ट्रेसन संख्यामा वृद्धि भए पनि रजिष्ट्रेशनबाट संकलित राजस्वमा कमी आएको देखिन्छ । 

बैंक तथा वित्तीय संस्थाहरूले समीक्षा वर्षमा यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप ५.३५ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ६१ अर्ब ८१ करोड पुगेको छ भनेयस प्रदेशमा प्रवाह गरेको कर्जा १६.७० प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३० अर्ब ९ करोड पुगेको छ । अन्य प्रदेशको निक्षेप यस प्रदेशमा परिचालन भएको हुदाँ यस प्रदेशमा कुल निक्षेपको तुलनामा कुल कर्जा प्रवाह बढी रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १ लाख ६९ हजार ५ सय २१ रहेको छ जुन संख्या मुलुकभरबाट श्रम स्वीकृति लिने संख्याको २६.९० प्रतिशत हुन आउँछ । प्रदेशमा निर्माणाधिन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम रहेका छन् ।