शीर्षकहरू

महँगी नियन्त्रणमा कसैको चासो देखिएन

महँगी नियन्त्रणमा कसैको चासो देखिएन

काठमाडौं । कोभिड महामारी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र रुस–युक्रेन युद्धलाई देखाएर दैनिक उपभोग्य वस्तुमा दैनिकजसो महँगी बढिरहेको छ । महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल छ । तर, महँगी नियन्त्रणमा कसैले चासो देखाएका छैनन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि यस वर्ष ८ प्रतिशतभन्दा बढी महँगी पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत थियो । उपभोक्ता भने यो तथ्यांकभन्दा बजारमा धेरै गुणाले महँगी बढेको दाबी गर्छन् ।

राष्ट्र बैंकका अनुसार यो बेला खाद्य तथा पेय पदार्थ समूहको महँगी ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ८.६३ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९।३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशत मूल्य बढेको छ ।

कात्तिकसम्ममा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत महँगी पुगेको छ । गत वर्ष यी क्षेत्रहरुमा क्रमशः ६.१४, ५.४२ , ७.१४ र ५ प्रतिशत महँगी थियो । खुद्रा व्यवसायीहरुका अनुसार गत भदौमा १ हजार ८ सय पर्ने २५ केजी जिरा मसिनो चामलको मूल्य अहिले २२ सय ५० रुपैयाँ पुुगेको छ ।

यस्तै, गत वर्ष ८५ रुपैयाँ प्रतिकेजी रहेको त्रिशूलीको पोखरेली चामल यो वर्ष ९५ पुुगेको छ । अघिल्लो वर्ष प्रतिकेजी ७५ रहेको स्टिम जिरा मसिनो चामलको मूल्य बढेर यो वर्ष ९० रुपैयाँ पुुगेको छ । सबै खालका चामलको मूल्य अहिले बढिरहेको छ । चामलमात्र होइन, दाल–तेलको पनि मूल्य बढेको छ ।

गत वर्ष १ सय ८० प्रतिकेजी रहेको मासको दाल यो वर्ष १ सय ९० रुपैयाँ पुगेको छ । गत वर्ष सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ४० रहेकोमा यो वर्ष २ सय ५० रुपैयाँ पुुगेको छ । अदुवाको मूल्य पनि प्रतिकेजी ३५ बाट ५६ रुपैयाँ पुुगेको छ । रातो आलु प्रतिकेजी ३२ रुपैयाँबाट बढेर ४९ पुुगेको छ । यो सबै थोक व्यापारको मूल्य हो । खुद्रा व्यापारमा यी सबै वस्तुको मूल्य झनै बढी छ ।