शीर्षकहरू

सुपरमाई हाइड्रोपावरको आईपीओको समय थप, वैदेशिक रोजगारीका लागि आज अन्तिम दिन

सुपरमाई हाइड्रोपावरको आईपीओको समय थप, वैदेशिक रोजगारीका लागि आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गते देखि निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले पुस २१ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । स्थानीयबाट छिटो अवधि पुस ६ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधिसम्म विक्री खुला गरिने भएको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ६ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी रू. ५० करोड को १० प्रतिशतले हुन आउने रू. ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा र बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्र बाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीको भनाई छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज सहित रू. १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत भने रू. १९ करोड ८ लाख ४८ हजार रहेको छ ।