शीर्षकहरू

नौं हाइड्रोपावर कम्पनीको पनि लाभांश प्रस्ताव, कुनको कति ?

नौं हाइड्रोपावर कम्पनीको पनि लाभांश प्रस्ताव, कुनको कति ?

काठमाडौं । हालसम्म नौं जलविद्युत कम्पनीले लाभांशको घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न नौ हाइड्रोपावर कम्पनीहरुले शेयरधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन् । 

लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर, चिलिमे जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, युनाईटेड इदी मर्दी, माउन्टेन इनर्जी, रिडी पावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् ।

नेप्सेका अनुसार लाभांश घोषणा गरेका कम्पनीहरुमा रु रु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, अरुण काबेली पावर लिमिटेडले यस वर्ष १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । 

त्यसैगरी, सानिमा माई हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, माउन्टेन इनर्जी नेपालले  कर बाहेकको १०.५२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

चिलिमे जलविद्युत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७.५ प्रतिशतका दरले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशतका दरले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

नेप्सेका अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी ८.४२१ प्रतिशत लाभांश दिने दिने घोषणा गरेको हो । 

नेपाल हाइड्रो डेभलोपर लिमिटेड हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ०२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

त्यस्तै, युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले यस वर्ष १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी, रिडी पावर कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।