शीर्षकहरू

नेपालमै पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुँदै

नेपालमै पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुँदै

काठमाडौं । नेपालमै पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ डिसेम्बर १३ का दिन एक विशेष समारोहका माझ बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने भएको हो । 

विभिन्न १६ विधामा दिइने बेस्ट एयरलाइन्स आवर्ड नेपालमा ३ विधा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएका छन् । ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । यसबाहेक रहेका २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरूमध्येबाट उत्कृष्टलाई चयन गरिनेछ ।  

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा तय गरिने यो अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कुल क्लब अफ काठमाडौँका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश लिड नेपाल इन्कका अध्यक्ष अनिल केशरी शाह, सीजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेका छन् ।  

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यस बेस्ट एयरलाइन्स अवार्ड नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रूपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरूसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसिप नलिएको जनाएको छ ।