शीर्षकहरू

कालो धनलाई सेतो बनाउने प्रयास गर्ने सिंह विरुद्ध २७ करोडको मुद्दा

कालो धनलाई सेतो बनाउने प्रयास गर्ने सिंह विरुद्ध २७ करोडको मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कालो धनलाई सेतो बनाउने प्रयासस्वरूप सम्पत्ति शुद्धीकरण गरेको भन्दै सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड बढीको मुद्दा दायर गरेको छ । साविक चाँदनी–६ कञ्चनपुर घर भई हाल काठमाडौं सुकेधारा बस्ने ४९ वर्षीय सिंहको २७ करोड ६७ लाख ७८ हजार ६ सय ५६ रुपैयाँ एक पैसाको स्रोत नखुलेपछि मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले सिंह र उनकी श्रीमती शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहका नाममा रहेको सम्पत्ति जफत गर्न पनि माग दाबीसहित मुद्दा दायर गरेको हो ।

परिवारको नाममा रहेको सम्पत्ति जफत गर्न माग

साथै सिंहलाई सम्पत्ति शुद्धीकरणको कसुरमा सघाएको भन्दै अर्का प्रतिवादी जयन्ती थापाविरुद्धसमेत मुद्दा दायर गर्दै गिल्ट इन्भेस्टमेन्टको नाममा रहेको ४ लाख १४ हजार ३ सय ४ रुपैयाँ ५७ पैसा जफत गरी पाउन मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

सिंहले विदेशी भारतीय रुपैयाँ, अमेरिकी डलरको अवैध कारोबार र जुवासम्बन्धी कसुरबाट सम्पत्ति जोड्दै त्यस्तो सम्पत्तिको पुनः प्राप्त भोग चलन, उपयोग, उपभोग र धारणसमेतका कानुनले निषेधित कार्यमा प्रतिवादी जयन्ती थापामगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाएको बताइएको छ । सिंहको जुवासम्बन्धी कसुर अदालतमा विचाराधीन रहेकोसमेत विभागले जनाएको छ ।