शीर्षकहरू

कूल आयातको ३७.१० प्रतिशत हिस्सा वीरगन्ज नाकाको

कूल आयातको ३७.१० प्रतिशत हिस्सा वीरगन्ज नाकाको

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ बढीको आयात भएको थियो । 

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ । यस अवधिमा उक्त नाकाबाट १२ अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यसरी हेर्दा कूल आयातको ३७.१० प्रतिशत हिस्सा वीरगन्ज नाकाको रहेको छ । त्यस्तै, दोस्रो नम्बरमा भैरहवा भन्सार नाका रहेको छ । यस अवधिमा उक्त नाकाबाट ५७ अर्ब ७७ करोड ६६ लाख बराबरको वस्तु आयात भएको छ । 

त्यस्तै, यस अवधिमा सबैभन्दा बढी वस्तु आयात हुने भन्सार कार्यालयको तेस्रो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय रहेको छ । जसबाट ४१ अर्ब ७ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छन् ।  

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको असोजसम्म विराटनगर भन्सार कार्यालयबाट ४९ अर्ब ३ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यस्तै, यस अवधिमा वीरगञ्जकै सुख्खा बन्दरगाहबाट ५१ अर्ब ३४ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 

त्यसैगरी, भद्रपुर नाकाबाट तीन करोड तीन लाख, चोभार नाकाबाट १० करोड ४२ लाख, गौतमबुद्ध एयरपोर्टबाट एक करोड १८ लाख, जलेश्वर नाकाबाट २ अर्ब २२ करोड ३६ लाख, जनकपुरबाट १७ करोड ४७ लाख, कैलालीबाट ५ अर्ब ५६ करोड ८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

विभागका अनुसार कन्चनपुर नाकाबाट ३५ करोड ७६ लाख, कृष्णनगर नाकाबाट ५ अर्ब ४५ करोड ६८ लाख, महेशपुर नाकाबाट आठ करोड ३४ लाख, मेची भन्सारबाट १२ अर्ब २८ करोड ७९ लाख, नेपालगन्जबाट १५ अर्ब ५९ करोड २७ लाख र राजविराज भन्सार नाकाबाट ९७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 

त्यस्तै, रसुवा भन्सार नाकाबाट ५ अर्ब ३९ करोड ४४ लाख, सर्लाही नाकाबाट ५१ करोड ५७ लाख, सती नाकाबाट ७ करोड दुई लाख, सिरहा नाकाबाट, दुई करोड ७६ लाख, सुनसरीबाट एक अर्ब ७८ करोड २६ लाख, सुथौली नाकाबाट ६३ करोड ७३ लाख, तातोपानी नाकाबाट २ अर्ब ४२ करोड ४२ लाख र थाडी भन्सारबाट २ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले जनाएको छ ।