शीर्षकहरू

गाउँ–गाउँमा साउण्ड सिस्टम पुगेपछि संकट मादल व्यवसाय

गाउँ–गाउँमा साउण्ड सिस्टम पुगेपछि संकट मादल व्यवसाय

ढोरपाटन । बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका छन् । 

तर, अहिले मादल बिक्न छोडेपछि उनी गिट्टी कुट्ने र बालुवा बोक्ने काम गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उनलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । 

अहिले छोराहरु विदेश पलायन र छोरीहरु बिहे गरी सकेपछि उनले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गरे । भने, “मलाई पाँचरसात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन । मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिएँ, छोराछोरी पढाएको थिएँ । अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन । बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ । अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।”

पहिले बाह्रै महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्री नै नहुने उनले बताए । कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको उनले बताए । उनका अनुसार अहिले मादलको मूल्यसमेत घटेको छ । 

“मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री ग¥थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो । बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थेँ, कमाइ पनि राम्रो हुन्थ्यो । वर्षमा झण्डै पाँच लाख कमाइ गर्थेँ । मूल्य पनि राम्रै पथ्र्यो,” उनले भने, “अहिले मादल किन्न बेला मौकामा एकरदुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु । पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें ।”

दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउन्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । 

“तिहार आयो कि मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्,” उनले भने, “कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ ।”

निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको उनले सुनाए ।

“वर्षौँ भइसक्यो, मादल निकै कम बिक्छन् । तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ । यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन । तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो । अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्,” नेपालीले भने, “वर्षभरि मादल बनायो, बिक्री हुन्न । अब अरु नै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।”

नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए । उनले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताए । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउन्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ ।

“आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो । मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे । विद्युत्को पहुँच थिएन । माइक, स्पिकर र साउन्ड सिस्टम आएका थिएनन्,” उनले भने, “अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो । अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।” 

गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् ।

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउन्ड सिस्टम र माइकको माग निकै बढेको बताए । पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउन्ड सिस्टम धेरै बिक्री हुने गरेको उनको भनाइ छ । 

“अहिले बजारमा साना–ठूला साउन्ड सिस्टमको माग निकै बढी रहेको छ । अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ । पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ,” उनले भने, “अहिले त मेला महोत्सव जताततै साउन्ड सिस्टम घन्किन्छन् । मादल त बज्नै छोडे । केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो । अहिले त जताततै साउन्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।”