शीर्षकहरू

रुसद्वारा विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी

रुसद्वारा विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी

एजेन्सी । रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्ने अनुमन गर्न थालिएको छ । यसको पछाडिको कारण तेलको मूल्य हो । रुसले जी ७ देशहरूले प्रस्ताव गरेको तेलको मूल्य उचित नभएको भन्दै विश्व बजारमा तेल आपूर्ति बन्द गर्ने बताएको छ। भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले जी–७ देशले प्रस्ताव गरेको मूल्य निर्धारण हाम्रा लागि उचित नभएको र स्वीकार नगरे विश्व बजारमा तेलको आपूर्ति रोक्ने बताए । यससँगै उनले मूल्य सीमा तोक्न अमेरिकालाई सहयोग गर्ने देशलाई तेल दिन बन्द गर्ने बताए ।

युक्रेनमा भएको आक्रमणपछि अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । जसका कारण रुसले युरोपेली देशहरुलाई तेल र ग्यासको आपूर्ति घटाएको छ । रुसमाथि थप कडा प्रतिबन्ध लगाउनका लागि जी–७ का सदस्य राष्ट्रहरूले पेट्रोलियम पदार्थको अधिकतम मूल्य निर्धारण गर्ने कुरा गरेका छन् । रूसले इन्धन निर्यातबाट ठूलो मात्रामा विदेशी मुद्रा प्राप्त गर्नेछ। यसलाई बन्द गर्न तेलको मूल्य निर्धारण गर्ने विषयमा छलफल भइरहेको छ ।

अलिपोभले मूल्य क्याप लगाएपछि विश्व बजारमा तेलको ठूलो अभाव हुने र मूल्य तीव्र गतिमा बढ्ने बताए । अमेरिकाले भारतलाई रुसी पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने समूहको हिस्सा बन्न पनि आग्रह गरेको छ । तर भारतले उक्त प्रस्तावलाई ‘ध्यानपूर्वक अध्ययन’ गरेपछि मात्र निर्णय गर्ने जनाएको छ । रुसी राजदूत अलिपोभले तेलको मूल्य निर्धारण गर्ने प्रस्तावमा भारतले अहिलेसम्म सतर्कता अपनाएको बताए ।

गत महिना अलिपोभले रुसमाथिको पश्चिमी प्रतिबन्धले भारत र रुसको व्यापारमा कुनै असर नपर्ने बताएका थिए । यस वर्षको पहिलो छ महिनामा दुई देशबीचको व्यापार ११.१ अर्ब डलर रहेको अलीपोभले भने, सन् २०२१ मा दुई देशबीचको व्यापार १३ अर्ब डलर रहेको थियो । ब्लूमबर्गको रिपोर्ट अनुसार जुनमा रुसले साउदी अरेबियालाई उछिन्दै भारतलाई तेलको दोस्रो ठूलो आपूर्तिकर्ता बन्यो।

युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपेली देशहरूले रुसमाथि लगाएको प्रतिबन्धबीच भारत र चीनले सबैभन्दा बढी रुसी कच्चा तेल किनेका छन् । भारतले आफ्नो तेलको आवश्यकता पूरा गर्न आफ्नो हिस्साको ८५ प्रतिशत आयात गर्छ। रुसबाट सस्तोमा तेल ल्याएपछि भारतले आर्थिक मोर्चामा केही राहत पाएको छ ।