शीर्षकहरू

बन्द अवस्थामा रहेका १० प्रतिशत उद्योग सञ्चालनमा ल्याएः मन्त्री बडू

बन्द अवस्थामा रहेका १० प्रतिशत उद्योग सञ्चालनमा ल्याएः मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेका १० प्रतिशत उद्योग सञ्चालनमा ल्याएको बताएका छन् । बिहिबार मन्त्री बडुले पत्रकार सम्मेलन मार्फत आफूले कार्यभार सम्हालेको ५ महिनाको अवधिमा गरेको काम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 

उनले कोरोना महामारी र बाह्य युद्धका कारण बन्द अवस्थामा रहेका १० प्रतिशत उद्योग सञ्चालनमा ल्याउन सफल भएको बताए । यसका साथै देशको अर्थतन्त्र स्वस्थ नरहेको बताएका छन् । उनले भने, ‘देशको अर्थतन्त्र स्वस्थ छैन । आयातको चाप बढेको छ । कोरोना र बाह्य युद्धले ४० प्रतिशत उद्योग मात्र सञ्चालनमा थिए । १० प्रतिशत उद्योग बन्द भएका थिए । अहिले सञ्चालनमा आएका छन् ।’

यसका साथै उनले मुलुकको उत्पादन र उपभोगलाई व्यापक रुपमा बढाउन आवश्यक रहेको बताए । रुग्ण अवस्थामा रहेका औद्योगिक क्षेत्रलाई पुन सञ्चालनमा ल्याउनका लागि आवश्यक कार्यविधि, नियमावली र उपयुक्त मोडालिटी तयार गरिरहेको जानकारी दिए । 

पत्रकार सम्मेलनमा बोल्दै उनले रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालनमा लागि निजि क्षेत्रको संलग्नतालाई प्राथमिकतामा राख्न जोड दिए । यसका साथै उनले यस अवधिमा अलैँची, बेसार, अदुवा, लसुन, टिम्मुर, दालचिनी, धनियाँ, जीरा, खुर्सानी जस्ता मसलाजन्य वस्तुको उत्पादन, प्रशोधन र निर्यातको लागि प्रविधि हस्तान्तरण गरेको बताए । 

त्यसैगरी, पकेट क्षेत्रमा प्रशोधन उद्योग स्थापना गर्न थप सहुलियत दिने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ । उत्पादनमूलक एवं निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न एवं गैर आवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानी सम्बन्धी कानून तथा प्रक्रियामा सुधार गर्ने कार्य अघि बढेको जनाएका छन् । 

विदेशी लगानी वृद्धि गर्न हाल कायम रहेको थ्रेसहोल्ड पाँच करोड बाट घटाई दुई करोड कायम गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री बडुले बताए । 
उच्च निर्यात सम्भावना भएका क्लिङ्कर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी लगायतका वस्तुहरू र सूचना प्रविधिमा आधारित सेवाहरू पहिचान गरी निर्यात प्रवर्द्धनको कार्यक्रम तयार गरिएको मन्त्रालयले जनाएको छ । 

नेपाली ढाका कपडालाई ब्रान्डिङ र लेवलिङ गरी स्वदेशी एवं विदेशी बजारमा माग बढाउन पाल्पा र तेहथुम जिल्लालाई ढाकाको राजधानी घोषणा गरी आवश्यक कार्यक्रम अगाडि वढाइएको समेत मन्त्रालयले जनाएको छ ।