शीर्षकहरू

हवाईमार्गबाट मात्रै करिब दुई खर्बको वस्तु आयात, सबैभन्दा बढी सुन भित्रियो

हवाईमार्गबाट मात्रै करिब दुई खर्बको वस्तु आयात, सबैभन्दा बढी सुन भित्रियो

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा हवाईमार्गबाट करिब दुई खर्बको वस्तु तथा सामान आयात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय (त्रिवि) ले दिएको जानकारी अनुसार गत आवमा एक खर्ब ९४ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको विभिन्न वस्तुहरु आयात भएको हो । जसबाट २१ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।    

यस अवधिमा हवाईमार्गबाट सर्वाधिक सुन आयात भएको त्रिवि भन्सार कार्यालयले जनाएको छ । त्रिवि भन्सार कार्यालयका अनुसार गत आवमा ४३ अर्ब ४० करोड ९६ लाख रुपैयाँ बराबरको ५६ लाख २६ हजार ७९९ ग्राम काँचो र व्यवसायिक प्रयोजनका लागि सुन आयात भएको छ । जसबाट ४ अर्ब ८३ करोड २३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।    

त्यस्तै, सर्वाधिक आयातको दोस्रो स्थानमा मोबाइल फोनहरु रहेका छन् । गत आवमा १८ अर्ब ९१ करोड ५९ लाख रुपैयाँ बराबरको १३ लाख ४७ हजार ५१४ वटा मोबाइल फोनका सेटहरु आयात भएका छन् । जसबाट २ अर्ब ९८ करोड २१ लाख राजस्व संकलन भएको छ । यस्तै, तेस्रामा १६ हर्ब ८९ करोड ३१ लाख रुपैयाँ बराबरको चाँदी तथा चाँदीका गहनाहरु आयात भएका छन् । जुन गत आवमा १७ करोड ७४ लाख ३० हजार १६२ ग्राम चाँदी नेपाल भित्रिएको छ । जसबाट एक अर्ब ५९ करोड ७६ लाख राजस्व संकलन भएको छ ।

त्रिवि भन्सार कार्यालयका अनुसार गत आवमा ९ अर्ब ५७ करोड ३० लाख रुपैयाँ बराबरको एक लाख ६३ हजार ९०३ थान ल्यापटप र नोटबुक आयात भएको छ । यसबाट सरकारले एक अर्ब २४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, यस अवधिमा २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ बराबरको टेलिफोन तथा मोबाईलका पार्टस जस्ता सामानहरु आयात हुँदा ६२ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका राउटरहरु आयात हुँदा ५३ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, यस अवधिमा ३ अर्ब ७ करोड ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्यसँग सम्बन्धित सामाग्री आयात भएको छ । जसबाट ४६ करोड ७ लाख  रुपैयाँ राजस्व संकलन भएको छ । 

गत आवमा एक अर्ब ८६ करोड ६४ लाख रुपैयाँको हवाइ जहाज र हेलिकप्टरको पार्टहरु आयात हुँदा सरकारल २५ करोड ९० लाख रुपैयाँ राजस्व पाएको छ । त्यस्तै, ८१ करोड ९१ लाख रुपैयाँ बराबरको टेलिभिजनका रिसिभरहरु विदेशबाट आयात भएका छन् । जसबाट २४ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।  

३७ करोड ९१ लाख रुपैयाँ बराबरको टिसर्ट तथा गन्जीहरु आयात भएको छ । जसबाट १४ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, ९३ अर्ब ९० करोड ७७ लाख रुपैयाँ बराबरको अन्य समानहरु हवाइमार्गबाट नेपाल भित्रिएको छ । जसबाट राज्यले ८ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको त्रिवि भन्सार कार्यालयले जनाएको छ ।