शीर्षकहरू

मध्यरातमा बजेट महाशाखा छिर्ने अर्का व्यक्तिको पनि पहिचान खुल्यो

मध्यरातमा बजेट महाशाखा छिर्ने अर्का व्यक्तिको पनि पहिचान खुल्यो

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर करको दर हेरफेर गर्ने दुई व्यक्तिको पहिचान खुलेको छ । मध्यरातमा बजेट महाशाखा प्रवेश गरेर करिब ७५० वस्तुको कर परिवर्तन गर्ने व्यक्ति रघुनाथ घिमिरे र उपेन्द्र हेरावत रहेको खुलेको हो ।  

‘मध्यरातमा करको दर हेरफेर गर्न पुगेका नेपालका ठूला व्यापारीक घरानाको तर्फबाट पूर्व नायब सुब्बा रघुनाथ घिमिरे पुगेका थिए । त्यस्तै, उनीसंग भारतीय नागरिक लेखा परिक्षक (सिए) उपेन्द्र हेरावत पुगेका थिए’, स्रोतले आर्थिक न्युजसंग भन्यो । 

घिमिरेले २०७५ राजस्व अनुसन्धान विभागमा दिर्घराज मैनाली महानिर्देशक भएका बेलामा घिमिरे सहित करिब आधा दर्जन कर्मचारीले छोडेका थिए । उनको जागीरमा करिब १० वर्ष बाँकी छँदा नायव सुब्बा पदबाट राजीनामा दिएका थिए । कर्मचारीहरुको अभिलेख राख्ने किताबखानाको अभिलेख अनुसार अर्घाखाँची भूमिस्थान नगरपालिकाका बासिन्दा घिमिरे २०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समितिअन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)का रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए । 

स्रोतका अनुसार भारतीय नागरिक हेरावत नेपालकै ठूलो घारानाको कम्पनीमा सिएकोरुपमा कार्यरत रहेका छन् । उनी त्यहि घरानाको निर्देशनमा करको दर हेरफेर गर्न बजेट महाशाखा पुगेका थिए ।  

आगामी आर्थिक वर्षको बजेटमा दुई जना अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेपछि बुधबार अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा समेत दिइसकेका छन् । अर्थमन्त्री शर्मामाथि छानविन गर्न छानविन समिति समेत गठन भइसकेको छ ।