शीर्षकहरू

‘बेइमानसँग पैसा माग्नु नपरोस् भनेर मैले व्यवसाय शुरु गरे’

‘बेइमानसँग पैसा माग्नु नपरोस् भनेर मैले व्यवसाय शुरु गरे’

इन्द्र बहादुर बानियाँ, नेपाली राजनीति र व्यवसायिक क्षेत्र दुबैमा स्थापित नाम हो। राजनीति सेवा हो, पेसा होइन भन्ने मूल मन्त्रमा विश्वास गर्ने उनी थाहा आन्दोलन मार्फत राजनीतिमा जोडिएका हुन्। पछि नेपाली काँग्रेसको राजनीति र उद्योग व्यवसायलाई सँगसँगै अघि बढाउन सफल उनी हाल नेपाली काँग्रेसको बागमती प्रदेशका सभापति हुन्। बागमती प्रदेश सभा सदस्य उनी त्यहाँ काँग्रेस संसदीय दलको प्रमुख समेत रहेका छन्। नेपालको राजनीतिमा बिरलै भेटिने पात्र मध्येका बानियाँको मुलुकलाई नै समृद्ध पार्ने छुट्टै सोच र अभियान छ। सबैले केही न केही पेशा व्यवसाय गर्नुपर्छ भन्ने उनको राजनीतिक र व्यवसायिक यात्रा समेत रोचक छ। प्रस्तुत छ, उनै इन्द्र बहादुर बानियाँसँग आर्थिकन्यूजका इन्द्र बहादुर बानियाँले नै गरेको वार्ताको सम्पादित अंश:  

व्यवसाय र राजनीतिलाई सँगसँगै लगिरहनु भएको छ । तपाईँ राजनीतिकर्मी कि व्यवसायी  ? 

मेरो परिवारमा कोही पनि व्यवसायमा लागेको छैन । अनि राजनीतिमा पनि कोही पनि छैनन् । मेरो परिवार पहिलादेखि नै गाउँमा खान लगाउन पुग्ने परिवार मध्येमा नै पर्थ्यो । नेपालमा बाइसे चौबिसे राज्य हुँदा पनि मकवानपुरमा हाम्रो पुर्खाको राम्रो उपस्थिति थियो । त्यस बेला पनि बानियाँ थरका मन्त्री नै थिए भन्ने इतिहासमा छ । हाम्रो परिवार कृषि कर्ममा जोडिएर आएको हो । मैले भने व्यवसाय गर्ने आँट गरेँ । 

काँग्रेस निरन्तर स्वतन्त्रताको लागि लडाइँ लड्यो । काँग्रेसले सधैँ असमानताको खिलाफमा स्वतन्त्रता र समानताका लागि लड्यो । वि।स। २००४ सालदेखि अहिलेसम्म हेर्दा ७५ वर्षको अवधिमा नेपाली काँग्रेसका आधा दर्जनभन्दा बढी युग पुरुषहरूले नेपाललाई स्वाधीनता र समानताका बाटो देखाउनु भयो । 

२०४६ साल अघि रुपचन्द विष्टको थाहा अभियानसँग नजिकको मान्छे थिएँ, म । त्यसपछि २०४८ सालदेखि काँग्रेसको सदस्यता लिएर निरन्तर राजनीतिमा छु। यो पृष्ठभूमि किन बताएको हो भने म राजनीतिकर्मी र व्यवसायी दुवै हुँ। त्यसैले म सबै राजनीतिकर्मीको आफ्नो छुट्टै व्यवसाय पनि हुनुपर्छ भन्छु।  जसले गर्दा राजनीतिलाई न्याय गर्न सकियोस्। 

अहिलेसम्म दुवैलाई कसरी अगाडी बढाइरहनु भएको छ ? 

राजनीति भनेको सबै नीतिको प्रधान नीति हो । व्यवसाय,  उद्योगधन्दा र कृषि भनेको मानिसको दैनिक जीवनसँग जोडिने विषय हो । सबैले आफ्नो जीवन चलाउन जीविकोपार्जनका लागि केही न केही त गर्नै पर्छ । जमिन खण्डीकरण हुँदै आफ्नो भागमा आइपुग्दा निकै कम भएपछि अब जीविकोपार्जनका विकल्प खोज्नु पर्छ भन्ने २०५५/५६ साल तिर नै मनमा आयो अनि बानियाँ निर्माण सेवा, बानियाँ सप्लायर्स, बानियाँ मल्टी प्रोडक्ट गर्दै व्यवसाय शुरु गरेँ। । 

राजनीतिमा म विद्यार्थी जीवनदेखि नै निरन्तर रूपमा लागेको मान्छे हुँ । त्यस बेला सम्ममा नेविसंघको क्याम्पस कमिटीमा उपसभापति भएँ । नेविसंघको अध्यक्ष पनि भएर निरन्तर रूपमा लागि रहेँ। जिल्ला सहसचिव भए र काँग्रेस भातृसंगठन तरुण दलको जिल्ला अध्यक्ष भइसकेको थिएँ। तर, राजनीति अप्ठ्यारो, असजिलो र संघर्षको यात्रा रहेछ । आज काँग्रेसमा निरन्तरता दिएको पनि ३३ वर्ष भएछ । 

राजनीति मार्फत सेवा गर्न र जीवनलाई सहज बनाउनका लागि व्यवसाय शुरु गरेँ। राजनीति गर्नेले काम गर्नुहुँदैन भन्ने कुरा अल्छी र बेइमानीहरूले भन्ने कुरा हो । इमान्दारले त काम गरेर खानुपर्‍यो नि रु त्यसैले राजनीति मात्रै गर्दा कतै बेइमानहरू सँग मागेर खानु पर्ला कि भन्ने लागेर नै मैले व्यवसाय पनि सँगसँगै अघि बढाएको हुँ। 

व्यापार, उद्योग र कृषि, निर्माण व्यवसाय जे गरे पनि हुन्छ। तर, सबैले काम चाहिँ गर्नुपर्छ। मैलै पनि राजनीति मात्र गरेर हुँदैन, गरिखानु पर्छ भनेर व्यवसाय गरेको हो । भोलि मेरो व्यवसाय छोरा नातिले हेर्छन्। तर, कसै न कसैले सुरुवात त गर्नुपर्‍यो नि । मैले गाडी निकालेर गुडाउन शुरु गरेपछि उनीहरूले बाटो सहज बनाएर गुडाउनुपर्छ । सेवामूलक राजनीति गर्न मैले बनाएको संरचनामा उनीहरूले कमाएर मलाई दिनुपर्छ । 

राजनीतिको  पवित्रता भित्र अपवित्रता छिर्ने हो की भनेर मलाई चिन्ता लागिरहेको छ । त्यसैले भाषण गर्ने, सिद्धान्त, नीति, निष्ठता र इमान्दारीताको कुरा गर्ने अनि आफू चाहिँ बेइमानहरूसँग पैसा माग्नुपर्ने अवस्था आउँला भनेर नै मैले व्यवसाय शुरु गरेको हुँ । 

तपाईँको यो राजनीति र व्यवसाय सँगै हिँडाउने अभियान बागमती प्रदेशमा त चर्चित छ। तर, देशभरि अहिलेसम्म कति जनाले यसलाई अङ्गीकार गरे ? 

हामीले भर्खर एउटा दृष्टिकोण बनाएका हौ। लगानी, पूर्वाधार, रोजगार र दिगो विकासको दृष्टिकोण काँग्रेसको एउटा समिति हो । यो समितिको संयोजक विनोद चौधरीलाई बनाएका छौँ। उहाँ पार्टीको सदस्य पनि हुनहुन्छ । धनी कसरी हुने कुरा व्यक्तिले जाने तर अब देश कसरी धनी बनाउने भन्ने कुरामा हामी लाग्नुपर्छ । 

जसरी एउटा व्यक्तिले आफूलाई धनी, सम्पन्न र अब्बल बनायो उसले लगानी, पूर्वाधार र रोजगारी सँगै दिगो दृष्टिकोण बनायो भने स्थिति अर्कै हुन्छ। नेपालको पूर्वाधार राम्रो बनाउन, जनतालाई रोजगारीको अवसर सिर्जना गर्न, नेपालमा नै स्वास्थ्य सेवा, पर्यटन लगायतका क्षेत्रहरूको विकास गर्न विनोद चौधरीलाई संयोजक बनाएर एउटा अभियान हामीले अगाडी बढायौ। तर, यो बिचमा धरै काम गर्न सकेका भने छैनौ । 

हामी विशेष गरी गाउँका बेरोजगार युवाहरूलाई कसरी रोजगारीको सिर्जना गर्ने, कसरी उत्पादनसँग जोड्ने, उत्पादनलाई बजारीकरण कसरी गर्ने, बजारमा बिचौलियाहरूको अन्त्य कसरी गर्ने, किसानहरूको उत्पादनले सिधै राम्रो मूल्य पाउने व्यवस्था कसरी गर्ने, अहिले विदेशबाट आएका फलफूल, तरकारीलाई कसरी रोक्ने र आफ्नो उत्पादनलाई कसरी उपभोक्ता सम्म पुर्‍याउने भन्ने दिगो दृष्टिकोणमा काँग्रेसका नीतिलाई लान खोजेका छौँ। अहिलेको नीति र कार्यक्रममा पनि बागमती प्रदेश लगायतका अन्य केही प्रदेशहरूमा रोजगारीसँग जोडेर गरिखाने वर्गको निर्माण गर्ने भनेर लागेका छौ । 

कम्युनिष्टको भाषामा समाजमा धनी र गरिबको बिचमा वर्ग संघर्ष हुन्छ। अहिले गरी खाने वर्ग र एउटा ठगी खाने वर्ग छन् । ठगी खाने र मागी खाने वर्गसँग गरिखाने वर्गले लड्नुपर्ने अवस्था आएको छ । हामीले ठगी खाने र मागी खाने वर्गलाई श्रमजीवी र गरिखाने वर्गमा रूपान्तरण गर्नुपर्छ । यी वर्गलाई परिवर्तन गर्न सकेमा मुलुकमा हुने खाने वर्ग पनि बढ्छ । जसले मुलुकको अर्थतन्त्र बढ्छ । समाजमा विद्रोहको अन्त्य हुन्छ । चलखेल गरेर व्यवस्थामाथि आक्रमण गर्ने, भ्रम सिर्जना गर्ने, लोभ सिर्जना गर्ने, मानिसको पनि अन्त्य हुन्छ । 

अहिले धेरैले राजनीतिलाई पेसा बनाएका छन् । गरिखाने अभियानले राजनीति पेसा होइन सेवा हो भन्ने कुरा स्थापित गर्न सक्छ ?  

राजनीतिमा सोच भएका र खोज भएका दुई थरी मानिस छन्। सोच भएका मानिसले राजनीतिलाई सेवा गर्ने थलो ठान्छन्। सुविधाको खोज गर्दै त्यता छिरेकाले त्यसलाई नै पेसा बनाउँछन्। हिजो लोकतन्त्र र स्वतन्त्रताको लडाईको बेला मानिसहरू पूर्णकालीन राजनीतिमा लागे।  त्यो आवश्यक पनि थियो। जसले गर्दा उनीहरूले अन्य पेसा व्यवसाय गर्न पाएनन्। 

तर, अहिले समय बदलिएको छ। अब परिवर्तनको राजनीतिको च्याप्टर क्लोज भइसक्यो। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भित्र सबैको पहिचान छ । प्रतिस्पर्धा छ । यसको समावेशी सिद्धान्त भित्र सबै जात, वर्ग, समुदाय र भूगोलको प्रतिनिधित्व छ। त्यसैले अब राजनीतिलाई पेसा बनाउनु हुँदैन भन्ने हाम्रो अभियान हो। सबैले केही न केही पेसा व्यवसाय गर्नुपर्छ भन्ने कुरा नै हाम्रो अभियानको मूल मात्र हो। राजनीति गर्नेले आफ्नो घरनीति राम्रोसँग चलाउनुपर्‍यो, काम गर्नुपर्‍यो । कुनै पनि पेसा व्यवसाय गरेर खानुपर्‍यो । गरिखाने भएन भने मान्छे ठगी खाने र मागी खाने हुन्छ। 

नेपालमा जुनै व्यवस्था आए पनि जनताको स्तर भने जहाँको त्यहीँ नै रह्यो ? काँग्रेस पनि धेरै समय भो शासन गरेको तर आम जनतालाई आर्थिक रूपमा माथि उठाउन सकेन। कारण के हो ?

हो, मुलुकमा राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तन भए पनि आम नेपालीको जनजीवनमा भने परिवर्तन भएन। अब नेपाली काँग्रेसको र मेरो अभियान नेपालीको जनजीवन सुधारतर्फ लाग्ने रहेको छ । राजनीति दलको नीति र विचारले मात्रै पेट भरिँदैन। घर चल्दैन । मुलुकको अर्थतन्त्र बलियो भए मात्र सबै कुरा सहज हुन्छ। मुलुकको अर्थतन्त्र राम्रो हुनका लागि पहिले हामी सबैको आर्थिक अवस्था राम्रो हुनुपर्‍यो ।  

हिजोका दिनमा काँग्रेसले नसके पनि अबका दिनमा नेपाली अर्थतन्त्रलाई गरिखानेको लागि उपयुक्त खालको बनाउन म स्वयम् पनि परेको छु । वि.स २०४६ सालको परिवर्तन पछि डा. प्रकाश शरण महतले लिनु भएको अर्थनीतिले आर्थिक क्षेत्रमा धेरै परिवर्तन भयो । नौ अर्ब रुपैयाँको बजेटको आकार आज १७ खर्बमा आइपुगेको छ । खुल्ला अर्थनीतिका कारणले आज टेलिकम लगायत अन्य क्षेत्रमा ठूला लगानी आएका छन् । निजी क्षेत्रका बैंकहरु थपिए । खुला अर्थनीति लिएका कारणले नेपालमा वैदेशिक लगानी भित्रिएको छ भने नेपालबाट वैदेशिक रोजगारीमा जान ढोका खुलेको छ । 

नेपालको अर्थतन्त्र बढाउने कुरामा हिजोको दिनहरूमा काँग्रेसले राम्रो काम गरेको हो । तर, नेपालमा कसैले राम्रो गर्न खोज्यो भने त्यसलाई कसरी लडाऊँ भन्ने प्रवृत्ति छ । बेइमानहरूको भिडमा इमान जोगाउन गाह्रो छ । तसर्थ, यत्रो खुला अर्थतन्त्र लिएर आउने काँग्रेसलाई जनकपुर चुरोट कारखाना बेचेर खायो, भृकुटी कागज कारखाना खायो, बाँसबारी जुत्ता कारखाना बेचेर खायो भनेर भनेर आरोप लगाइरहेका छन् । राज्यको काम नीति बनाउने हो व्यापार गर्न निजी क्षेत्रलाई दिने हो ।  

फरक राजनीतिक विचार भएका पार्टीसँग सधैँ सम्झौता गर्नु परेकाले आर्थिक उन्नति गर्न नसकिएको हो ?

विचार जे भए पनि देश र जनताको हितमा काम गर्दा सबै पार्टीले जनतालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने हो तर सबैले त्यसो गरेका छैनन्। जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने र  जनताको प्रगति र समृद्धि हुने किसिमको नीति कार्यक्रम ल्याउने गर्नुपर्छ। बाटो फरक भए पनि लक्ष्य त एउटै हो सबैको। त्यसैले मुलुकको समृद्धि यात्रामा सबैले साथ दिने हो भने परिवर्तन आउँछ।  

भर्खर बजेट आएको छ, त्यसलाई कसरी हेर्नु भएको छ ? 

यो बजेटलाई गरिबमुखी र न्यायमुखी बनाउनका लागि केही राम्रो गर्न खोजेको जस्तो देखिन्छ। हामीले समाजवाद उन्मुख अर्थ व्यवस्थामा जाने भनेका छौँ । त्यही अनुरूप बजेटमा कृषिलाई बढी प्राथमिकता दिइएको छ । हामी उत्पादनमुखी हुनुपर्छ। हामी परनिर्भर हुनु भएन । परनिर्भरतालाई आत्मनिर्भरतामा बदल्न  बनाउन यो बजेट कृषिमा अलिक केन्द्रीत गरेको छ । 

समग्रमा यो गठबन्धनको सरकार बजेट मार्फत गरिबसँग जोडिन खोजेको हो की जस्तो छ । विगतमा भएका कमी कमजोरीलाई सच्याएर काममा लाग्नुपर्छ भन्ने चेत यसमा देखिन्छ। 

हामी सङ्घीय प्रणालीमा छौँ। संघितया विश्वमा नै महँगो प्रणाली हो। सङ्घीयताले हामीलाई के–के मा सबल बनायो र के–अप्ठ्यारो बनायो ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बमोजिम पहिलो तहको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव भयो । २०७९ मा पालिकाहरूको दोस्रो कार्यकालको समेत निर्वाचन भैसकेको छ। सङ्घीयता भनेको पहिचान र प्रतिस्पर्धाको शासन प्रणाली हो। यसका धेरै राम्रा पक्षहरू छन्। जुन आम जनतालाई बुझाउनु जरुरी छ। वस्तु बेच्नलाई पनि विज्ञापन त गर्नुपर्छ । आफ्नो कुरालाई जनताको माझमा लानको लागि हामीले राम्रो विज्ञापन गर्नुपर्छ। यदि यसो गरिएन भने यो व्यवस्थालाई चुनौती थपिने छ। यो भन्दा उत्तम व्यवस्था संसारमा छैन ।  

समानुपातिक प्रतिनिधित्व, समावेशी व्यवस्था, समानुपातिक अस्तित्व र पहिचान सहितको व्यवस्था, प्रतिस्पर्धाको सङ्घीयता यो अति उत्तम व्यवस्था हो। यो व्यवस्थालाई टिकाउन स्थानीय तहमा जितेकाहरूले राम्रो काम गर्नुपर्‍यो । यो व्यवस्थालाई टिकाउनु पर्छ। समाजमा फेरि अनावश्यक द्धन्द्ध गर्नु हुँदैन । द्धन्द्ध मेटिने र हरेकको पहिचान भेटिने भनेकै संघियतामा हो । 

संघियतामा एक प्रदेश र अर्को प्रदेश बिच पनि प्रतिस्पर्धा हुन्छ ? तपाई बागमती प्रदेशको सांसद समेत हुनुहुन्छ। यो प्रदेशलाई हेरेर अरू प्रदेशहरूले सिकुन् भन्ने दिन कहिले आउँछ ?  

त्यो दिन पनि चाँडै आउँछ । पहिले काँग्रेसलाई जितेर बलियो बनाइयो । अहिले जितेका स्थानीय तहका प्रतिनिधिहरूलाई तपाईँहरू सेवामुखी बन्नुस् भनेका छौँ । सभापति हुँदा जितेका ३४ पालिकाका अध्यक्ष र २४ वटा नगरपालिका सबैलाई न्यायमुखी, सेवामुखी, गाउँमुखी र काममुखी काम गर्नुपर्छ भनेका छौँ । 

बागमती प्रदेशमा हामीले देखिने गरेका योजनाहरू कहिलेसम्म सकिन्छन् ?

अहिलेको व्यवस्थालाई स्थिर बनाउन सक्यौ भने अबको पाँच वर्ष भित्र पूर्ण भरोसा जागृत गर्ने गरी काम गर्छौँ। बागमती प्रदेशको मात्रै आन्तरिक आय २५ अर्ब भन्दा माथि छ । ७० अर्ब ९३ करोडको बजेट छ । प्रविधिको जमानामा कागज खर्चको पैसा कटौती गर्ने । कर्मचारी कटौती गरी निजी क्षेत्रलाई प्रशस्त अवसर दिनुपर्छ । राज्यले व्यापार नगर्ने र बोझिलो प्रशासन खर्च नगर्ने, इगभर्नेन्सको कुरा गराउने, सेना, प्रहरी समय अनुसार परिमार्जित गरेर लाने, प्रविधिलाई प्रयोग गरी मुलुकलाई बनाउन सकिन्छ । तर, मुलुकलाई बनाउन सबै जना भित्र देखिनै जाग्नुपर्छ ।

बागमती प्रदेशमा गठबन्धनको हिसाबले जसरी राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुभएको थियो । अब तपाईँको पालो आयो होला नि ? कि होइन उहाँले नै चलाउनुहोस्, म सेवा नै गरिहन्छु भन्नुहुन्छ ? 

सहमति भएको कुरा मिडियामा पनि आइसक्यो । सहमति र समझदारी अनुसार हुन्छ भन्ने विश्वास छ । हामीले पद्धतिको लागि लडाई लड्या हो । पदको लागि होइन । पद्धति, समृद्धि र समानताको लडाइँ लडेको हो । मुख्यमन्त्री हुनुपर्छ भन्नेमा समझदारी भएको छ, म नै बन्नुपर्छ भन्ने होइन। राजनीतिमा इमानदारी र नैतिकता हुन्छ । इमानदारी र नैतिकता रहेन भने राजनीतिको औचित्य छैन । राजनीतिमा इमानदारी र नैतिकता समझदारी गर्नेले राख्नुहुन्छ भन्ने मेरो विश्वास हो । नभए मेरो केही बिग्रिँदैन । समाजमा मान्छेको इमानदारिता र नैतिकता कति छ भन्ने पहिचान बन्छ । हिजो गरेको सम्झौता र समझदारी के हो भन्ने कुरा समाजले हेर्छ । 

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अझै बाँकी छ । काँग्रेसलाई स्थानीय तहमा जसरी नै माथि ल्याउनका लागि के गर्दै हुनुहुन्छ ? 

अहिले मुलुक बनाउन राम्रो ढङ्गले अघि बढ्नका लागि हालको गठबन्धनलाई निरन्तरता दिनुपर्छ। हिजो शान्ति सम्झौतामा सही गर्ने व्यक्ति माधव नेपाल र प्रचण्ड हो। बृहत् शान्ति सम्झौताको दस्तखत गर्ने स्वर्गीय गिरिजा प्रसाद कोइराला हो । बृहत् शान्ति सम्झौताको जगमा गठबन्धन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा हो ।

त्यसैले अरूसँगै साथमा हिँड्नका लागि हामी तयार छौँ । राजनीति भागबन्डाका कुरामा कहिलेकाहीँ तलमाथि हुन्छ । गठबन्धनलाई सँगै लानका लागि हामी तयार र्छौ । नेपाली काँग्रेसलाई माथि उचाल्न हामी गठबन्धनमा इमान्दार भएर लाग्छौँ। आफ्ना छुट्टै योजना र कार्यक्रम पनि तय गर्छौँ।