शीर्षकहरू

‘दुई महिनामा कलकत्ता मार्केट नै हल्लिने गरि स्टिल आयात गरियो’

‘दुई महिनामा कलकत्ता मार्केट नै हल्लिने गरि स्टिल आयात गरियो’

अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्री भएको केहि दिनपछि प्रतिस्थापन विधेयकमार्फत फलामे छडको कच्चा पदार्थ बिलेट र स्पञ्ज पत्रु  आयात गर्दा भन्सार र अन्तःशुल्कको दर परिवर्तन गरेपछि स्टिल उद्योगीहरुबीचमा फाटो आयो । 

अर्थमन्त्रीले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पनि भन्सार र अन्तःशुल्कको दर सोही कायम गरेपछि झन व्यवसायी र अर्थमन्त्रीबीचमा दुरी बढ्न थालेको छ । मुलुकका स्थापित छड उद्योगमध्ये आधा दर्जनले मात्रै स्पञ्ज आइरन आयात गरेर स्वदेशमा छड उत्पादन गर्छन् । तर, दुई दर्जनभन्दा बढी उद्योगले भने बिलेट आयात गरेर छड बनाउँछन् । राज्यले एकै प्रकृतिका उद्योगमाथि विभेदकारी नीति ल्याएको भन्दै आन्दोलन गरिरहेका छन् । सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आफ्ना आन्दोलनका कार्यक्रम नरोक्ने बताउँदै आएका साखः ग्रुपका निर्देशक किरण प्रकाश साखसँग आर्थिकन्युज डटकमले गरेको कुराकानीको सम्पादित अंशः 

लामो समयदेखि अर्थमन्त्री जनार्दन शर्मा र स्टिल उद्योगीबीच जुहारी जस्तो चलिरहेको छ । यस्तो किन भइरहेको छ ?
अर्थमन्त्री जनार्दन शर्माले स्टिल उद्योगीसंग दुश्मनी हुनुपर्ने कारण केहि छैन । मोह हुनुपर्छ भन्ने पनि छैन । तर, यहाँ एउटै किसिमका स्टिल उद्योगीहरुसंग फरक फरक ब्यवहार अर्थमन्त्रीले गरेका छन् । बिलेट आयात गरेर डण्डी बनाउने हाम्रो समूहसँग भन्दा पनि ५/६ जनाको सिमित समूहको ३२ वटा उद्योगहरुमध्ये पत्रु, स्क्रयाप र स्पञ्ज आइरन पैठारी गरेर डण्डी बनाउनेहरुसंग मात्रै अर्थमन्त्रीको मोह देखियो । 

हामी पनि डण्डी बनाउने उहाँहरु पनि डण्डी बनाउने, हामी ५ प्रतिशत ड्युटी पनि तिर्ने, २५ सय पर मेट्रिक टन एकसाइज ड्युटी पनि तिर्नेहरुलाई बढाएर ३५ सय पुर्याइएको छ । त्यो पनि तिर्ने हामी नै हौं । पत्रु प्रयोग गरेर स्पञ्ज आइरन बनाउनेहरुसंग मात्रै अर्थमन्त्रीको मोह देख्दा हामी पिडित बन्न पुगेका हौं ।  

अर्थमन्त्रीले प्रतिस्थापन बजेटदेखि नै हामीलाई पीडित बनाउँदै आएका छन् । प्रतिस्थापन बजेट आएदेखि हामी धेरै रोयौं करायौं । हामीले हामीमाथि परेको पीडा मिडियादेखि मन्त्री नेतासम्म पुर्यायौं । तर, सम्बोधन कतैबाट भएन । 

आगामी आर्थिक वर्षको बजेटले हामीलाई केहि हदसम्म सम्बोधन गर्छ भन्ने आशा लिएर बसेका थियौं । यो बजेटमा पहिला ५ प्रतिशत तिर्नुपर्ने पछि शुन्य बनाएकालाई १ प्रतिशत पुर्याइयो । त्यो पनि उनीहरुका कच्चा पदार्थमा बढाईयो । यता आएर हामीलाई एक हजार रुपैयाँ फेरि बढाइयो । यसो हुँदा हामीमा थप भार थपियो । हामी उनीहरुसंग प्रतिस्पर्धा गरेर बस्न सक्ने अवस्था रहेन । 

अर्थमन्त्री शर्माले हामीलाई ५ प्रतिशत ड्युटी लगाएर उनीहरुलाई शुन्य पारिरहँदा यसले देशको इन्डष्ट्रिलाई हुन्छ, ब्याकबण्ड लिंकेज हुन्छ जसले गर्दा कञ्जुमरहरुलाई सस्तो पर्न जान्छ भनिएको थियो । म अर्थमन्त्रीलाई प्रश्न खोइ त कञ्जुमरले सस्तो पाएको ? प्रतिस्थापन बजेट आउँदा ७० रुपैयाँको थियो । अहिलेसम्म आएपुग्दा ११५ रुपैयाँसम्म पुगेको अवस्था छ । 

प्रतिस्थापन बजेटले सबैमा शुन्य ड्युटी पारिदिएपछि उनीहरुलाई पनि यो नीति लामो समयसम्म टिक्दैन भन्ने लागेर आयात ह्वात्तै बढाएको देखिन्छ । बजेट आएपछिको दुई महिनाको भन्सारको डाटा हेर्ने हो भने भारतको कलकत्ता मार्केट नै हल्लिने गरेर खरिद गरिएको थियो । 

उनीहरुले मन्त्रीलाई पनि झुटो आस्वाशन दिए । नेपाली उद्योग सबैलाई पुग्नेगरि कच्चा पदार्थ दिन्छौं भनेका थिए । अहिले हामी जस्तो उद्योगलाई दिनको पाँच सय टन आवश्यक पर्छ । तर, हामीले दुई सय टन पनि पाइरहेका छैनौं । 

५/६ वटा सिमित समूहले अर्थमन्त्रीलाई दिएको आश्वासन पुरा गरेनन् । यता अर्थमन्त्रीले सोचेजस्तो पनि भएन र उनीहरुले अर्थमन्त्रीले सोचे जसी उद्योगलाई दिन पनि सकेनन् । त्यतिमात्र होइन अर्थमन्त्रीले सोचे जस्तो कञ्जुमरले समेत बेनिफिट लिन पाएनन् । सिमित उद्योगले मात्र यसको फाइदा लिने अवसर पाए । 

देशमा जलवायु परिवर्तनको यतिधेरै चर्चा छ । प्रधानमन्त्री समेत यसमा आवद्ध रहेका छन् । यस्तो बेलामा संसारभर गर्न हुन्न भनेर बन्द गरिएको प्रविधि अहिले नेपाली उद्योगहरुले प्रयोग गरिरहेका छन् । यसलाई इन्डक्सन फर्नेन्स भनिन्छ । चीनमा समेत यस्तो प्रविधि एक–एक गरेर बन्र गरेको छ । यो बन्द गर्नुको कारण भनेको यो प्रविधिबाट उच्चकोटीमो स्टिल बन्न सक्दैन । जसले निर्माण कार्यमा त्यति राम्रो रिजल्ट दिदैन । त्यतिमात्र होइन यसले पर्यावरणमा धेरै नै दुषित गर्छ । जसले गर्दा यो प्रविधि प्रयोग भएको छेउछाउको गाउँलाई दूषित पार्ने गर्छ  । दूषित ग्यास उत्पादन गर्छ । जसबाट हेल्थ हजार्ड हुन्छ । 

यसमा सय केजी पत्रु र स्पञ्ज हालियो भने ८० केजी मात्र प्राप्त हुन्छ । यहि तरिका केहि उद्योगहरुले नेपाल सरकारलाई दिएका छौं । यसरी दूषित पार्ने प्रविधिलाई नेपाल सरकारले बढावा दिएर शुन्य प्रतिशत ड्युटी दिएको देख्दा अचम्म लाग्छ । 

प्रतिस्थापन बजेटपछि जसरी शुन्य प्रतिशत छुट दिइएको छ यसो गर्दा राज्यलाई कति घाटा भयो ?
यसमा ठ्याक्कै यतिनै भनेर उत्तर दिन म असमर्थ छु । बुझ्नेलाई इशारा काफी छ । नेपालमा करिब १५ लाख मेट्रिक टन डण्डीको खपत छ । १५ लाख मेट्रिक टन बनाउनका लागि ५ देखि १० प्रतिशत बढी लयाउनु पर्ने हुन्छ । १५ लाख मेट्रिक टन भन्दा बढी बिलेट ल्याउनु पर्यो या  स्पञ्ज ल्याउनु पर्ने हुन्छ । १५ लाख मेट्रिक टन बिलेट आएको भए आजको दिनमा लगभग प्रतिटन ६ सय डलरमा ५ प्रतिशत भन्सार र प्रतिटन २५ सय एक साइज ड्युटी सरकारलाई आउथ्यो । अहिले बिलेटवाला चाहेर पनि मगाउन सकिरहेको छैन ।

किनभने उसले बजारमा प्रतिस्पर्धा नै गर्न नसक्ने अवस्थामा पुगेको छ । यसले गर्दा अहिले बिलेट न्युन मात्रामा आइरहेको छ । यसरी हेर्दा सरकारले भन्सार र अन्तशुल्क कति गुमायो भनेर आफैले हिसाव गर्न सकिन्छ । यसो गर्दा सरकारले कति राजस्व गुमायो भन्ने कुरा देखिन्छ । राज्यलाई घाटा लगाइलगाई कसैलाई छुट दिइरहेको के को लागि भन्दा हामी जस्ताले पनि कच्चा पदार्थ चलाओस भन्नका लागि हो । त्यससंगै ग्राहकलाई सहज होस भन्नका लागि पनि यस्तो व्यवस्था गरिएको हुनसक्छ । तर, यो कुनै पनि उद्देश्य पूर्ति भएको देखिदैन । 

५० वर्षदेखि यहाँ स्टिल उद्योगहरु चलिरहेका छन् । अहिले रातारात यसरी नीति परिवर्तन गरिएको छ । यसो हुनुमा पुराना उद्योगहरु अर्थतन्त्रमा टेवा दिएको छैन भन्नु सरकारले सोच हो ?
यहाँ पुराना उद्योगले अर्थतन्त्रमा टेवा दिएको छैन भन्दा पनि नयाँले नदिएको जस्तो देखियो । अहिले निरिक्षण गर्ने हो भने इन्डक्सन फर्नेन्समा नेपाली कामदाहरु शुन्य जस्तै छन् । म त सरकारलाई उनीहरुले दमन गर्यो भन्छु । किनभने नेपालमा त्यो मेनपावर तयार नै भएको छैन । राजस्व सबै छोडिदिएर बिजुली अलिकति बढाएको भरमा कसरी टेवा दियो भन्न मिल्छ ? नेपालमा विज्ञको कमि छैन । डेटा निकाल्नेको पनि कमि छैन र हिसाव गर्नेको पनि कमि छैन । उनीहरुले हेर्दा हुन्छ कहाँ कसरी के मा मुलुकलाई टेवा दिएको छ भनेर स्पष्ट देखिन्छ । 

जसले यो माग गर्यो उसले हामी दुःखी भयौं । हामी सर्भाइभ हुन सकेनौं, हामीलाई प्रोटेक्सन चाहियो भनेर भिख मागेकोले सरकारलाई दिएको हो । यदि भिख नमागेको हो भने मैले भनेको ५ देखि ६ वटा समूहरुको तीन वटा उद्योग हुनेको ६ वटा अहिले पुगिसकेको छ । उनीहरुले मात्रै फाइदा नलिएको भए एउटाको दुई तीन वटा पुग्छ । त्यो पनि यति छोटो समयमा  । हिजोका दिनमा पनि उनीहरुले हामीभन्दा बढी पैसा कमाइरहेको थियो । र, अहिले प्रोटेक्सन पाएपछि त छाप्न नै शुरु गर्यो । हामी आज के गर्ने भन्ने अवस्थामा गुज्रिरहेका छौं । कसैले सरकारको नाममा सुसाइड नोट लेखेर आत्माहत्या गर्यो भने आश्चर्य नमान्नु होला । यस्तो अवस्था पुगिसकिएको छ । 

यस क्षेत्रमा अध्ययन नगरी सरकारले यो नीति ल्याएको हो ?
सरकारले यस्तो नीति ल्याउनु भन्दा पहिले हामी पुराना उद्योगीहरुसंग बसेर कस्तो छ ल्याउन ठिक छ या छैन भनेर छलफल गर्नु पथ्र्यौँ । यदि हामीसँग छलफल गरेको थियो भने हामी यो नीति नल्याउन सुझाव दिन्थ्यौं । यसो गरिको थियो भने यस्तो अवस्था आउने थिएन । सबै उद्योग बाच्थे ।

प्रदूषण पनि बढ्दैन थियो । क्वालिटयुक्त समान बजारमा जान्थ्यौं । देशसंग जनतालाई समेत राम्रो हुन्थ्यो । यस्तो नीति ल्याउनु अधि हामीसंग एक पटक सरकारले सल्लाह गर्नु पथ्र्यो । यदि हाम्रो संगठनसंग छलफल गरेको थियो भने अध्यक्षसंग गरेको थियो कि ? संगठनका अध्यक्ष पनि त्यहि ६ मध्येका थिए । अध्यक्षसंग सरकारले सल्लाह गरेको थियो भने त्यो मलाई जानकारी भिएन । यदि अध्यक्षसंग छलफल भएको रहेछ भने अध्यक्षले गद्दारी गर्यो । अध्यक्ष भनेको त अभिभावक हो । अभिभावकले त घरको सबै सदस्यको हितमा काम गर्नु पर्छ नी । एउटा छोरा या एउटा छोरीको हितमा काम गर्नु हुँदैन । एउटाको हितको लागि अध्यक्षले छलफल गरेका हुन् भने त्यस्तो मान्छे अभिभावक हुन सुहाउँदैन । 

स्पञ्ज, बिलेट,आर्क फर्नेन्स र इन्डक्सन फर्नेन्स प्रविधिबारे स्पष्ट पारिदिनुस् न ?
आर्क फर्नेन्स र इन्डक्सन फर्नेन्स भनेको प्रविधिको नाम हो । इन्डक्सन फर्नेन्सबाट गर्दा पहिलो कुरा त क्वालिटी नै आउँदैन । अर्को भनेको प्रदूषण धेरै हुन्छ । आर्क फर्नेनसले बनाउँदा क्वालिटी राम्रो आउँछ र प्रदूषण पनि हुँदैन । यो प्रविधि प्रयोग गर्न केहि महँगो भने छ । महँगो छ भनेर सस्तो प्रयोग गर्दै जनताको स्वास्थ्यसंग खेलवाड त गर्न भएन । 

आर्क फर्नेन्सले बन्दा क्वालिटी बन्छ । यो प्रविधिबाट द बेष्ट स्टिल बन्छ । प्राइम बिलेट आर्क फर्नेन्सले मात्रै बन्छ । यसबाट बनाउँदा प्रदूषण हुदैन । हेल्थ हजार्ड हुदैन । यो प्रविधि भित्र्याउनु अघि सरकारसंग छलफल गरेर समय माग गरेर ल्याउनु पर्ने हो । जनताको स्वास्थ्यसंग खेलवाड गर्ने खालको प्रविधि सरकारले ल्याउन दिनु हुँदैन । 

नेपालमा उद्योग लगाउनु अघि पर्यावरण सम्बन्धी अनेकौं काम गर्नु पर्ने हुन्छ । तर, यस्तो प्रविधि प्रयोग गर्न पर्यावरणको मान्छेले कसरी लाइसेनस दियो भनेर मलाई आश्चर्य लागेको छ । संसारभर बन्द हँदै गएको प्रविधि नेपाल ल्याएर कसरी उद्योग सञ्चालन गरियो भन्ने नै ठूलो प्रश्न रहेको छ । यसको भित्रि रहस्य खोज्नै पर्छ । 

तपाईंहरु लामो समयदेखि आन्दोलित हुनुहुन्छ । तर, माग सम्बोधन भइरहेको छैन । सरकारले आगामी आवको लागि बजेट समेत पास गरिसकेको छ । अब तपाइहरु के गर्नु हुन्छ ?
हामी हाम्रो माग सम्बोधन नभएसम्म लगातार संघर्ष गरिरहन्छौं । हाम्रो संघर्ष भनेको शान्त संघर्ष हो । हामी निरन्तर गुहार मागिरहन्छौं । गुहार माग्ने शिलशिलामा केहि दिन अघि मात्रै संघिय संसद उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले अर्थमन्त्री र उद्योगमन्त्रीलाई पत्र लेखेको छ । त्यसमा विभेदकारी व्यवस्थाका कारण केहि उद्योगले संरक्षण पाएको र अरु डुब्न लागेको हुनाले यसमा पुनर्विचार गर्न निर्देशन दिएको छ ।

संघिय संसद प्रतिनिधि सभाको समितिले निर्देशन दिएको कुरालाई पालना गर्छन या गर्दैनन् यसबारे हामीले भोलिका दिनमा हेर्नुछ । त्यस्तै, उक्त निर्देशनमा भन्सार तथा अन्तशुल्कमा २०७९÷८० का लागि जारी गरिएको बजेट वक्तव्यमा परिमार्जन गरि प्रतिस्थापन विद्येयकभन्दा पहिलेको अवस्थामा कायम गर्ने भनेर भनिएको छ । हामीले खोजेको पनि यहि हो । 

अब यो निर्देशन कार्यान्वयन हुन्छ भनेर हामी ढुक्क छौं । यो निर्देशनलाई कार्यान्वयन अर्थ मन्त्रालयले गरेन भने हामी जस्तोलाई त के बाँकी राख्ला र ? यो निर्देशन पालना हुन्छ भन्नेमा हामी विश्वस्त छौं । 

हाम्रो जस्तो सानो देशमा ३२÷३३ वटा स्टिल उद्योग हुनु भनेको अलिक बढी होइन र ?
तपाईहरुले नेपालमा गार्मेन उद्योग पनि देख्नु भएको छ । कार्पोटको लहर पनि देख्नु भएको छ । पश्मिनाको पनि लहर देख्नु भएको छ । कमाउने भन्दा गुमाउने धेरै भएको थियो । त्यहाँ धेरै सप्लाई धेरै भयो । जान्ने नजान्ने सबै आए । यसमा थाहै नपाई उसले पनि गरेको छ भन्ने लैहैलहैमा होमिने धेरै देखिए । त्यस्तै तरिका स्टिल उद्योगमा पनि भएको हो । 

सन् २०१५ को भूकम्पपछि करिब १० देखि १२ महिनासम्म कन्ट्रक्सन रोकियो । नगरपालिकाले कुनै पनि निर्माणको नक्सा पास गरिदिएनन् । रिजर्भ बैंकमा पानी रोकेको जसरी रोकियो । १० महिनासम्म रोकेको पानी एकैपटक खोलिदिँदा बाढी आउँछ की आउँदैन ?
त्यस्तो अवस्थामा त्तकाल नेपालमा भएको उद्योगहरुको उत्पादनले थाम्न सकेन । त्यतिबेला बोहिरबाट पनि आयात भयो । यहाँ रहेको उद्योगहरुले रातदिन उत्पादन गरे । यसो हुँदा यो पो उद्योग रहेछ मारामार हुने भनेर त्यतिबेला होमिएका यी उद्योगहरु हुन् । त्यतिबेला १० देखि १५ वटा ह्वात्तै उद्योगहरु आए । अबको १० वर्षसम्म अहिलेसम्म भएका उद्योगहरुले बजारको माग धान्न सक्छन् । 

यति धेरै उद्योग आउनुको पछाडि बैंक तथा वित्तीय संस्था जोडिएका हुन्छन् । उद्योगकोे उत्पादनमा मागभन्दा आपूर्ति बढी भएमा बैंकको लगानी जोखिममा पर्दैन ?
अहिलेको नीतिले गर्दा बैंक तथा वित्तीय संस्था हुब्ने देखिन्छ । केहि बैंक डुब्न पनि सक्छन् । किनभने नयाँ आएको उद्योग क्षमता, बजार गुणस्तरमा भर पर्छ । जुन बजार शेयर गर्दा सप्लाइसाइड बढी भएपछि साधारण नाफा पनि बनाउन सक्दैन । मार्जिन प्रोफिट त बनाउँछ । सर्भाइबल फिटेस हुन्छ । त्यतिबेला डुब्ने होइन कि धेरै पैसा कमाउन नसक्ने अवस्थाको सिर्जना हुन्छ । नयाँलाई गाह्रो पर्ने अवस्थाको सिर्जना हुन्छ । पुरानालाई जो बलियो भइसकेका हुनछन् उनीहरु सर्भाइभ हुन सजिलो हुन्छ । तर, विस्तारै खपत पनि बढ्दै जान्छ । डिमाण्ड पनि बढ्दै जान्छ । नजान्ने मान्छेको लागि गाह्रो पर्ने अवस्था अवस्य आउँछ । डुब्ने अवस्था पनि आउन सक्छ । 

यसअघि तपाईले गार्मेन्टदेखि हाउँजिङसम्म जोड्नु भयो । अब स्टिल र सिमेन्ट जोडिदैछ । राज्यले यस क्षेत्रमा बढी भयो कम गर्नु पर्छ भन्ने जस्ता स्थिर नीति नल्याएका कारण पनि उद्योगीहरुले फाइदा लिएका होलान् नी होइन ?
उद्योगीहरुले फाइदा पनि लिएका छन् र डुबेका पनि छन् । जान्ने बुझेर आउनेहरु फाइदामा गए केहि अरुले पनि गरेका छन् नी भन्दै आएकाहरु डुबेका पनि छन् । तपाईंले भनेजस्तै यस्तो काम राज्यले गर्नु पर्ने हो । सरकारले अध्ययन गरेर मात्रै अनुमति दिनु पर्ने हो । यसको अध्ययन गरेर अनुमति दिने खालको मानिस सरकारसंग हुनुपर्यो । नेपालको माग १५ लाख मेट्रिक टन रहेको छ ।

अहिले १८ लाख मेट्रिकटनको इक्जिस्टिङ छ । यसो हुँदा अव यहाँ आवश्यक छैन है यस्तो अवस्थामा थपियो भने डुबिन्छ भनेर रोक्नु पर्ने हुन्छ । देशको मागलाई अहिले धानिरहेको अवस्थामा अर्को थपेर ल्याउनु भनेको नयाँ आउने उद्योग डुब्ने नै भए ।  यससंगै देशको बैक डुब्ने हो । बैंक डुब्नु भनेको जनताको धन डुब्नु हो । यसले गर्दा यो कुराहरुमा ध्यान पुर्याउनु पर्ने हुन्छ । सरकारले ध्यान पुर्याएकोे भए अहिले ५० लाख मेट्रीकटन क्षमता बराबरको उद्योग कसरी आयो ?

अहिले नेपालमा एउटै क्षेत्रमा अरुले पनि गर्यो भन्दै आइरहेको अवस्था छ । नीति पनि परिवर्तन भइरहेको छ । यो बेलामा विदेशबाट पैसा ल्याउँछु भन्नेहरुले केहि शंका गरेको अवस्था छ की छैन ?
नेपालमा विदेशी लगानी भित्रिरहेको छ । त्यसमा यदि सन्तोष भइन्छ भने भन्नु पर्ने कुनै कुरा रहन्न । केहि कुरामा सन्तोष पनि हुनुपर्छ । तर, देशको अर्थतन्त्रलाई बढावा दिने कुरामा सन्तोष बनेर पुग्दैन । 

विदेशमा बस्ने मानिसले यहाँ लगानी गर्न चाहेको छ भने यहाँ को वातावरणदेखि नीतिगत तहसम्मको कुराहरुको अध्ययन गर्छ । यी सबै हेर्दा नेपालमा लगानी गर्न किने जाने भन्ने पनि आउँछ । किनभने यहाँ न पोलीसी स्थिर छ । न र मेटेरियल ल्याउन समुन्द्र नजिक छ । विद्युत महँगो छ । कामदार पनि महँगा छन् । इन्भेष्टमेन्ट गर्ने ठूलो बैंक यहाँ आएको अवस्था छैन । अहिले पनि नेपालमा एक अर्ब ऋण लिनु पर्यो भने पाँच वटा बैंक मिलेर दिनु पर्ने अवस्थाछ । यस्तो बेलामा बाहिरको लगानी धेरै अपेक्षा गर्न हुँदैन ।