शीर्षकहरू

दोहोरो तलब भत्ता लिने तत्कालीन प्रधानाध्यापक सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दोहोरो तलब भत्ता लिने तत्कालीन प्रधानाध्यापक सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पर्साको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठसहित दुई जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।  

उनीहरुले भौतिक निर्माणवापतको रकम लगायत विद्यालयको स्रोतसमेत दुरुपयोग गरेको भन्ने उजुरी आयोगका परेको थियो । उक्त निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालयबाट आर्थिक वर्ष २०६८÷०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणवापत जम्मा २९ लाख ५० हजार विभिन्न शीर्षक तोकी रकम निकासा भएको पाईएको आयोगले जनाएको छ । 

उक्त रकम सम्बन्धित शीर्षकमा खर्च नगरी तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठसमेतले आफूखुसी खर्च गरेको पाईएको छ । साथै श्रेष्ठले साउण, भाद्र, आश्विन तथा दशै खर्चवापतको रकमसमेत ९२ हजार ३७८ दोहोरो तलब लिएको देखिएको छ । 

नेपाल सरकारको रकम आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने बदनियतले श्रेष्ठले एउटा शीर्षक तोकी बिनियोजित रकम सम्वन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेको पाईएको छ । त्यस्तै, उनले  दोहोरो तलब भत्तासमेत लिएको पुष्टि भएको हुँदा उनी विरुद्ध ३० लाख ४२ हजार ३७८ विगोसहित कैद सजाय मागदाबी सहित मुद्दा हालिएको आयोगले जनाएको छ ।   

त्यस्तै, विद्यालय कर्मचारी राकेशमान श्रेष्ठले लेखा सञ्चालन गर्ने हैसियतले एउटा शीर्षकमा बिनियोजित रकम सम्वन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेको पुष्टि भएको आयोगको भनाई छ । श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन अनुसा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा २९ लाख ५० हजार रुपैयाँ बिगो कायम मुद्दा दायर गरिएको छ । उनीहरु दुबै जना विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोजले जनाएको छ ।