शीर्षकहरू

काम नै नगरि रकम माग गर्ने वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

काम नै नगरि रकम माग गर्ने वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम नै नगरि रकम भुक्तानी माग गर्ने तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । दैलेखको आठविस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्ति प्रसाद उपाध्यायसहित तीन जना विरुद्ध आरोप–पत्र दायर गरिएको हो । 

गणेश आधारभूत विद्यालय विशालामा आईसीटी व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६/०७७ मा सामान खरिद गर्न भनी विद्यालयले रकम हिनामिना गर्ने उद्देश्यले नक्कली बिल भरपाई तथा दाखिला प्रतिवेदन तयार गरि भुक्तानी माग गरिएको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वडाअध्यक्ष तथा गणेश आधारभुत विद्यालय, विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्ति प्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिल कुमार शाही संलग्न रहेको पाईएको छ ।  

आयोगका अनुसार उक्त वडाको उज्यालो सोलार वितरण कार्यक्रमको रकम भुक्तानीको वहाना गरी आ.व.२०७६।०७७ मा गणेश आधारभुत विद्यालयमा आईसीटी व्यवस्थापनको लागि विद्यालयमा वजेट विनियोजन नै नभएको अवस्थामा बिभिन्न मितिमा आईसीटी व्यवस्थापन गर्न सोलार खरिद गर्न कोटेशन आव्हान गर्ने, कोटेशन छनौट गर्ने उनीहरुले गरेका थिए । साथै सामाग्री नै खरिद नगरी खरिद गरी सकेको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय गरी सोही निर्णयको आधारमा झुट्टा बिल कागजात तयार गरी जिल्ला आठबिस नगरपालिका वडा नं. ८ को कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिससमेत गरिएको पाईएको छ । 

रकम भुक्तानीको लागि आठविस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, ४ लाख ९८ हजार रकम भुक्तानी लिने उद्देश्यले सरकारी रकम खाने मास्ने उद्देश्यका साथ गैरकानूनी लाभ लिन गलत लिखत तयार गरी भ्रष्टाचार गरिएको पाईएको आयोगले जनाएको छ । उनीहरुविरुद्ध सजाय हुन मागदावी लिई भ्रष्टाचार निवारण ऐन बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।